फल्कापुरमा डेढ करोड बढीको लगानीमा खुल्यो कपडा उद्योग : ३० जनाले पाए राेजगारी
देउखुरी २१ साउन । दाङको लमही नगरपालिका–३ फल्कापुरमा डेढ करोड बढीको लगानीमा कपडा उद्योग सञ्चालनमा आएको छ ।
स्थानीय कृष्णप्रसाद खनाल/ अनिता खनालले आफ्नै लगानीमा नेपाल महिला हस्तकला कपडा उद्योग सञ्चालनमा ल्याएका हुन् । सो उद्योगमा हाल स्थानीय ३० जना महिला तथा पुरुषले रोजगारी पाएका छन् । खाली समय घरमा बस्नु भन्दा सिप सिकेर उद्यममा जोडिदा महिलाहरु उत्साहित भएका छन् । स्थानीय सामग्री प्रयोग गरी कपडा बुन्ने तान निर्माण गरिएको र महिलाहरूलाई तालिम प्रदान गरी उद्योगमा रोजगारी दिइएको उद्योग सञ्चालक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । महिलाहरूले धोती, सारी, ब्लाउज, सल जस्ता सामग्रीहरू बुन्दै आएका छन् । यसै बीच उद्योगको बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् ।
उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताएका छन् । बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरूको प्रयोग गर्न समेत उनले सबैमा आह्वान गरेका छन् ।
‘हामीले प्रयोग गर्ने अधिकांश कपडाहरू स्वदेशमा बनेका होइनन् । म सबैलाई आह्वान गर्न चाहन्छु, हाम्रा दिदीबहिनी तथा दाजुभाइहरूले स्वदेशमै, लुम्बिनी प्रदेशमै उत्पादन भएका सामग्रीहरू प्रयोग गर्न अपिल गर्न चाहन्छु,’उनले भने,‘बाहिरबाट आएका कपडालाई विस्थापित गर्दै स्वदेशमै उत्पादन भएका कपडाहरू प्रयोग गरेर अगाडि बढ्न जरुरी छ ।’
लुम्बिनी प्रदेशमा मात्र होइन, देशका कुना–कुनामा यहाँ उत्पादन भएका कपडाहरूको बजार विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।‘उद्यमी तथा व्यवसायीको साथमा सरकार छ । घरमा बेरोजगार भएर बस्ने होइन, स्वरोजगार बन्न तालिम लिने, खाली समयको सदुपयोग गर्दै उत्पादनमा जोडिन आवश्यक छ,’ उनले भने,‘यो उद्योगले उत्पादन खरिद गर्नेछ र श्रमको मूल्य पनि उद्योगले नै दिने छ ।’
