सोलार मर्मत पछि थकरीकोटमा अवरूद्व खानेपानी सुचारु



सोलार मर्मत पछि थकरीकोटमा अवरूद्व खानेपानी सुचारु
सिसहनियाँ  ८ साउन । दाङको राप्ती गाउँपालिका वडा नं. ५ थकरीकोटमा सोलार पम्प प्रणाली मर्मत भएपछि विगत केही सातादेखि अवरुद्ध भएको खानेपानी सेवा पुनः सुचारु भएको छ।
गत असार महिनाको अन्तिम सातामा सोलार कन्ट्रोलरमा विद्युत सट भई जलेपछि उक्त सोलार लिफ्टिङ प्रणाली पूर्णरूपमा बन्द भएको थियो। त्यसको कारण गाउँमा खानेपानी आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको थियो। राप्ती गाउँपालिकाले समस्या समाधानका लागि आवश्यक कन्ट्रोलर खरिद गरी प्राविधिक टोली पठाएर मर्मत गराएपछि बिहीबारदेखि पुन खानेपानी सेवा सञ्चालनमा आएको हो। स्थानीय निश्चल सारू मगरका अनुसार खानेपानी सेवा बन्द हुँदा स्थानीय बासिन्दाहरूले करिब १ घण्टा हिँडेर टाढाको कुवा तथा खोल्साबाट पानी ल्याउनुपर्ने बाध्यता थियो।
पालिकाकाे बिकट पहाडी उक्त गाउँमा हाल ६५ घरधुरी छन्, जहाँ करिब २ किलोमिटर टाढा रहेको प्राकृतिक मुहानबाट सोलार प्रविधिको माध्यमबाट लिफ्टिङ गरी खानेपानी पुर्याइएकाे छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टले खानेपानी जस्तो अत्यावश्यक सेवामा कुनै पनि अवरोध नआओस् भनेर पालिकाले तत्काल मर्मतको व्यवस्था मिलाएको जानकारी दिए । उनले आगामी दिनमा यस्ता सेवा निरन्तर चलिरहुन् भन्ने उद्देश्यले थप दिगो उपायहरूको योजना निर्माण गरिने बताए । स्थानीयवासीहरूले समस्या समाधानमा सक्रिय सहयोग पुर्‍याएकोमा गाउँपालिका प्रति आभार व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे