देउखुरीकाे लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिक्रेट प्रतियोगितामा बागमतीको सहज जीत
देउखुरी १५ पुस । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बुधबार भएको दोस्रो खेलमा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गरेको छ । खेलमा बागमतीले दिएको १ सय ५४ रनको विशाल योगफललाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा ८८ रनमा सिमित हुन पुग्यो । गण्डकीका लागि सृष्टि पौडेलले सर्वाधिक ३० रन तथा कप्तान शिला क्षेत्रीले २६ रनको योगदान गरिन् ।
बलिङतर्फ बागमतीका लागि कप्तान अस्मिना कर्मचार्य, सुमन खतिवडा , आराती बिडारी र निशा तामाङले १÷१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । टिमले विशाल योगफल खडा गर्ने क्रममा बागमतीले सुरुवात देखिनै राम्रो सुरुवात पाएको थियो । ओपनर ब्याटरद्वय कन्चन श्रेष्ठ र विन्दा कटवालले ७६ रनको ओपनिङ साझेदारी गरेका थिए । १०.२ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी कन्चनले २९ बलको सामना गर्दै १ चौकासहित २७ रन बनाएकी थिइन् ।
कन्चन आउट भएपछि विन्दालाई साथ दिन सुमन खतिवडा आएकी थिइन् । राम्रो ब्याटिङ गरेका यी दुईबीच दोस्रो विकेटका लागि ५३ रनको साझेदारी हुन् पुगेको थियो । टिमलाई ठूलो स्कोरतर्फ पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमन दोस्रो विकेटका रुपमा आउट हुन् पुगेकी थिइन् । १७.४ ओभरमा टिमको स्कोर १ सय २९ रन हुँदा आउट हुन् पुगेकी उनले २६ बलको सामना गर्दै ४ चौकासहित ३१ रन बनाइन् । यस्तै विन्दाले भने पारीकै सर्वाधिक धेरै रन बनाइन् ।
राष्ट्रिय प्रतियोगितामा समेत डेब्यु गरेकी उनले ५८ बलमा ३ चौकाको सहयोगमा ३८ रनको योगदान गरिन् । अत्यमा आरती विडारीले १० रनमा अविजित रहदा कप्तान अस्मिना कर्मचार्यले ८ रन जोडेकी थिइन् । बलिङतर्फ गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिएकी थिइन् । यो जितसँगै समूह बी मा रहेको बागमतीले २ खेलमा १ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिकामा २ अंक जोडेको छ । भने लगातार दुई खेलमा पराजित भएको गण्डकी समूह चरणबाटै बाहिरिएको छ । यता लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ एक खेल अगावै सेमिफाइनल पुगेको छ ।
अब प्रतियोगिता अन्तर्गत बिहिबार समूह बी का अन्तिम खेलहरु हुनेछन् । जस अन्तर्गत पहिलो खेलमा सुदूर पश्चिमले बागमतीको सामना गर्दा दिनको दोस्रो खेलमा प्रदेश १ ले गण्डकीको सामना गर्नेछ ।यस्तैगरी प्रदेश १ ले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदुरपश्चिमलाई ५ विकेटले पराजित ग¥यो । खेलमा सुदुर पश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो ।