गढवा—४, को पत्रकार सम्मेलनमा भाडभैलो, गंगापरस्पुर खानेपानीको बुझबुझारथ थप अन्यौलमा
देउखुरी ३१ जेष्ठ । दाङको गढवा गाउँपालिका वार्ड नम्बर ४ ले आयोजना गरेको पत्रकार सम्मेलनमा भाडभैलो भएको छ । वडा अध्यक्ष हरिभगत चौधरीले सोही वडाको मगरौटामा रहेको गंगापरस्पुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आयव्यय सार्वजनिक सहित नयाँ कार्य समितीलाई पत्रकार सम्मेलन मार्फत बुझबुझारथ गर्न आयोजित पत्रकार सम्मेलनमा बिबाद भएपछि भाडभैलो भएको हो ।
खानेपानी समितीमा नयाँ कार्य समिती आएको १७ महिनापछि शुक्रबार वडा अध्यक्ष चौधरीले वडा कार्यालयमा पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक सहित वर्तमान नयाँ कार्य समितीलाई हिसाबकिताब बुझबुझारथ गर्न खोजेपनि हालको नयाँ कार्य समितीले उक्त हिसाबकिताब बुझ्न अस्वीकार गरेको छ । वडा अध्यक्ष चौधरीले तयार गरेको आयव्यव प्रतिवेदन वर्तमान कार्य समितीले अध्ययन नगरी स्वीकार गर्न नसकिने भन्दै बुझबुझारथ लिन अस्वीकार गरेको हो ।
अयोध्याप्रसाद चौधरी नेतृत्वको खानेपानी समितीले उक्त प्रतिवेदन अध्ययन नगरी स्वीकार गर्न नसकिने बताए । उनले निर्वतमान अध्यक्षले सार्वजनिक गरेकाे आयव्यय प्रतिवेदन अध्ययनका लागि एउटा छानबिन समिती बनाएर आएको प्रतिवेदन मात्र स्वीकार गर्ने बताएपछि बुझबुझारथ कार्यक्रम प्रभावित भएको छ । उक्त प्रतिवेदन अध्ययनका लागि वर्तमान समितीले छानबिन समिती गठन सहितका माग राखेपछि वडा अध्यक्ष चौधरीले कुनैपनि हालतमा छानबिन समिती गठन गर्न नसकिने बताएपछि बुझबुझारथको कार्यक्रम थप अन्योलमा परेको छ ।

पत्रकार सम्मेलनमा खानेपानी समितीका निर्वतमान अध्यक्ष हरिभगत चौधरी र वर्तमान अध्यक्ष अयोध्याप्रसाद चौधरी बीच कार्यक्रम शुरु देखि अन्त्य सम्म आरोपत्यारोप चलेको थियो । दुबै जना बीच आरोपत्यारोप बढेपछि पत्रकार सम्मेलन नै भाँडभैलो भएको थियो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष चौधरीले खानेपानी समिती बाहेकका व्यक्तिहरु बोलाउँदा बिबादको वातावरण सिर्जना भएको स्थानीय सामाजिक अगुवाहरु बताउँछन् ।
उक्त खानेपानी समितीका निवर्तमान अध्यक्ष तथा हालका वडा अध्यक्ष चौधरीले बिगत डेढ बर्ष देखि आफ्नो कार्यकालको हिसाबकिताब वर्तमान नयाँ कार्य समितीलाई बुझबुझारथ गरेका छेनन् । बिगत १७ महिना देखि हिसाबकिताब बुझबुझारथ नगर्दा वर्तमान कार्य समिती र उपभोक्ताहरुले वडा अध्यक्ष चौधरीले खानेपानी समितीको हिसाबकिताब भद्रगोल बनाएको आरोप लगाएका छन् ।
वर्तमान समितीले गत जेष्ठ ६ गते खानेपानी समितीको कार्यालय मगरौटामा पत्रकार सम्मेलन गरी समितीका निवर्तमान अध्यक्ष तथा हालका वडा अध्यक्ष चौधरीले समितीको हिसाबकिताब भद्रगोल बनाएको आरोप लगाएका थिए । वडा अध्यक्ष चौधरी नेतृत्वको अघिल्लो समितिले बुझबुझारथ नगरेर आर्थिक हिसाबकिताव भद्रगोल बनाएको आरोप लगाएका हुन् ।
उक्त आरोपको खण्डन गर्दै वडा अध्यक्ष चौधरीले पत्रकार सम्मेलन गरी बुझबुझारथ गर्ने बनाएको योजना पूर्ण रुपमा असफल भएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी समेतको उपस्थिती रहेको पत्रकार सम्मेलनमा वडा अध्यक्षले बनाएको योजना बिफल भएको स्थानीयहरुले बताएका छन् । स्थानीय उपभोक्ताहरुले समेत वडा अध्यक्षले बुझाउन लागेको प्रतिवेदन अध्ययन नगरी बुझ्न नहुने बताएका थिए । अध्ययन नै नगरी प्रतिवेदन बुझ्दा पछि समस्या आउन सक्ने भन्दै एउटा विज्ञ व्यक्तित्वहरु सहितको अध्ययन समिती गठन गरी उक्त समितीले दिएको प्रतिवेदन स्वीकार गर्दा सबै भन्दा उत्तम हुने स्थानीय उपभोक्ताहरुको भनाई छ ।
यता वडा अध्यक्ष चौधरी नेतृत्वको अघिल्लो समितीको सदस्य समेत रहनु भएका गढवा गाउँपालिकाका उपाध्यक्ष चौधरीले आफू उम्किन निकै जोडबलका साथ बुझबुझारथ गर्न दबाब दिएकी थिइन् । दिउँसो ३ बजे आयोजित पत्रकार सम्मेलनमा करिब डेढ घण्टा ढिला गरी पुग्नु भएका उपाध्यक्ष चौधरीले कार्यक्रम अबधिभर वडाध्यक्ष चौधरी कै पक्षमा बढी वकालत गरेको स्थानीयले आरोप लगाएका छन् । उपाध्यक्ष चौधरीले कुनैपनि हालतमा बुझबुझारथ ग्रहण गर्नेपर्ने दबाब दिएपछि अयोध्याप्रसाद चौधरी नेतृत्वको वर्तमान समिती कार्यक्रम स्थलबाट बाहिरिएको थियो । उपाध्यक्ष चौधरीको जोडबल समेत फेल खाएपछि केहीबेर कार्यक्रम स्थलमा हल्लाखल्ला समेत मच्चिएको थियो । उपाध्यक्ष जस्तो व्यक्तिले एकतर्फी वडा अध्यक्षको पक्षमा वकालतको गरेर बुझबुझारथ गर्न दबाब दिन नमिल्ने भन्दै आफूहरु कार्यक्रम स्थलबाट बाहिरिएको अध्यक्ष अयोध्याप्रसालले बताए ।

कानुनतः पालिका उपाध्यक्ष न्यायक समितीको संयोजक हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार पालिका उपाध्यक्ष चौधरी न्यायिक समितीको संयोजक समेत छिन् । न्यायिक समितीले गरेको आदेश, निर्णय वा निर्देशन सबैले मानुपर्ने कानुनी व्यवस्था समेत छ, तर खानेपानी समितीको वर्तमान कार्य समितीले उपाध्यक्षको आदेश अस्वीकार गरे संगै उपाध्यक्षको नैतिकता माथि प्रश्न चिन्ह समेत खडा भएको छ । वडा अध्यक्ष चौधरी नेकपा माओवादी केन्द्रबाट र पालिका उपाध्यक्ष चौधरी नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
खानेपानी समितीको बुझबुझारथ वडा कार्यालयबाट गर्न खोज्दा
समान्यतः हरेक कार्यालय वा संघसंस्थाको बुझबुझारथ सोही संस्था वा कार्यालयमा गर्ने प्रचलन रहेको छ । तर गंगापरस्पुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीको बुझबुझारथ भने खानेपानी समितीको कार्यालयमा नभई वडा कार्यालयमा आयोजना गरिएको थियो । वडा अध्यक्ष चौधरीले आफ्नै वडा कार्यालयमा बुझबुझारथ गर्न खोज्दा पनि केही हद सम्म बिबाद बढेको स्थानीय जानकारहरु बताउँछन् ।

बुझबुझारथका लागि खानेपानी समितीलाई वडा कार्यालयमा हाजिर हुन भनी पठाएको पत्र समेत समितीका अध्यक्ष अयोध्याप्रसाद चौधरीले अस्वीकार गर्नुभएको थियो । कार्यक्रमको अघिल्लो दिन वडा अध्यक्ष चौधरीले आफैले खानेपानी समितीमा बुझबुझारथ गर्ने भनी टेलिफोन संबादमा जानकारी गराए पनि पत्रमा भने वडा कार्यालयमा लेखेर पठाएपछि पत्र नबुझेको समितीका अध्यक्ष अयोध्याप्रसादले बताए । तर समिती भित्र भएको आन्तरिक छलफलपछि कार्यक्रम उपस्थिती भएपनि हिसाबकिताब बुझ्न भने अस्वीकार गरे ।
वडा अध्यक्ष चौधरीले बडाबासीलाई नै झुक्काए
वडा अध्यक्ष चौधरीले आफ्नो फेसबुकमा राखेको सुचनाले भ्रम छरेको आरोप लागेको छ । वडा अध्यक्ष चौधरीले पत्रकारहरुलाई खानेपानी समितीको बिषयमा आफूलाई लागेको आरोप खण्डन सहित बुझबुझारथका लागि पत्रकार सम्मेलन गर्न लागेको भनी निमन्त्रणा गरेका थिए । तर वडा अध्यक्ष चौधरीले आफ्नो फेसबुक पेजमा भने वडाको विकास निर्माण तथा सेवा सुविधा सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भनी सुचना राखेका थिए ।

उक्त सुचनामा कहीकतै पनि पत्रकार सम्मेलन, आरोपको खण्डन र बुझबुझारथ भन्ने शब्द समावेश भएको देखिदैन । यथपी वडा अध्यक्ष चाैधरीकाे नाम हरिभगत चाैधरी रहेकाे भएपनि उनलाई गाउँघरमा अहिले पनि सानू चाैधरी भनेर चिन्ने गर्दछन्, त्यसैले उनले आफ्नाे फेसबुक आइडी सानू चाैधरीकाे नाममा सञ्चालन गरेका छन् । वडा अध्यक्ष चौधरीले सुचना एकातिर र कार्यक्रम आर्कोतिर गरेर वडाबासीलाई झुक्काएको स्थानीय नागरिकहरुले गुनासो गरेका छन् । वडाबासीलाई झुक्काउने वडा अध्यक्ष चौधरीको हर्कतको वडाबासीले कडा आपत्ति समेत जनाएका छन् ।
वडाका नागरिकलाई झुक्काएर बुझबुझारथ गर्न खोज्नु र खानेपानी समिती आएन भनी भ्रम फैलाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको स्थानीयबासीहरुको भनाई छ । अन्ततः वडा अध्यक्ष चौधरीको योजना पूर्ण रुपमा असफल नै बनेको छ । आफूले बनाएको योजना पूर्ण रुपमा असफल भएपछि वडा अध्यक्ष चौधरी लज्जित समेत भएका छन् ।

