राप्तीमा ‘संरक्षण’ परियोजनाकाे बारेमा सरोकारवाला सँग छलफल
भालुवाङ २७ जेठ । दाङको राप्ती गाउँपालिकामा अल्पसंख्यक समुदायको मानव अधिकारमा दिगो पहुँच तथा लोपोन्मुख समुदायको दर्ता (संरक्षण) परियोजनाको बारेमा सरोकारवाला सँग छलफल कार्यक्रम सम्पन्न भएको छ।
मधेश मानव अधिकार गृह (माहुरी होम) काे आयोजना ,पिस ब्रीगेड इन्टरनेशनल नेपाल र जिविल फ्रिडेन्सडिन्स्टको सहयोग तथा राप्ती गाउँपालिकाको समन्वयमा मंगलबार मसुरियामा उक्त कार्यक्रम सम्पन्न भएको हाे। कार्यक्रममा परियोजनाको उद्देश्य, कार्यक्षेत्र, रणनीति र अपेक्षित उपलब्धिका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले पालिकाले सामाजिक न्याय, समावेशी विकास र मानवअधिकार प्रवर्द्धनको पक्षमा निरन्तर काम गरिरहेको बताइन्। उनले अल्पसंख्यक तथा लोपोन्मुख समुदायको उत्थानका लागि पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइन् ।त्यस्तै उनले संरक्षण परियोजनाले ती प्रयासलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पालिकाले परियोजनासँग पूर्ण समन्वय र सहकार्य गर्ने प्रतिबद्ध व्यक्त गरे। उनले विशेषत लक्षित वर्गको यथार्थ अवस्था बुझेर तदनुरूप कार्यक्रम लागू गर्नु आवश्यक रहेकोमा जोड दिए । माहुरी होमका प्रतिनिधि ऋषिराम निगमले परियोजनाको पृष्ठभूमि, उद्देश्य तथा स्थानीय सरकारसँगको सहकार्यबारे प्रस्तुति दिँदै परियोजना पालिकाभित्रको लक्षित समुदायको पहिचान, संरक्षण र अधिकार सुनिश्चित गर्न सहयोगी हुने अपेक्षा व्यक्त गरे। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, महिला तथा दलित सदस्यहरू, कर्मचारीहरूकाे उपस्थिति रहेको थियो। सहभागीहरूले परियोजनाको कार्यान्वयन प्रक्रिया, प्रभाव र सम्भावित चुनौतीहरूबारे खुला छलफल गर्दै महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

