भालुवाङ अस्पतालका नवनियुक्त अध्यक्ष शर्माद्धारा पदबहाली
भालुवाङ २२ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका–१ मा रहेको भालुवाङ अस्पतालका नवनियुक्त अध्यक्ष सुर्यप्रकाश शर्माले बिहिवार पदबहाली गरेका छन् ।
हालै लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशका १४ ओटा अस्पतालमा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरे बमोजिम दाङको भालुवाङ अस्पतालमा नेकपा एमालेबाट शर्मालाई अध्यक्षमा नियुक्त गरेपछि अध्यक्ष शर्माले बिहिवार पदबहाली सँगै राजनीतिक दल, जनप्रतिनीधि, संघ संस्था, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सँग परिचयात्मक कार्यक्रम समेत गरेका छन् । पदबहाली पछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले बोलेर भन्दा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “म जे बोल्छु, त्यो गर्छु; जे बोल्दिन, त्यो गर्दिन—यही मेरो स्वभाव हो।” साथै, अस्पताललाई व्यवस्थित ढंगले सञ्चालन गर्दै बिरामीको उपचारमा कुनै कमी हुन नदिने दृढता उनले व्यक्त गरे।
अस्पतालका निमित्त कार्यालय प्रमुख आकाश बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पुर्णजंग रेश्मी, राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिका अध्यक्ष दोर्ण जिसी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष बाबुराम थापा, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, पुर्व अध्यक्ष तथा उद्योगपति जगतप्रसाद पोख्रेल, भालुवाङ खोपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ता, महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण भण्डारी, इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी, समाजसेवी तथा बुद्धिजीवि अक्बर अलि मियाँ, भुमि गुरुङ, आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, राप्ती उद्योग व्यापार संघका अध्यक्ष गञ्जबहादुर विष्ट लगायतका वक्ताहरुले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए । अस्पतालका एम.डि.जिपी. डा. रणबहादुर बोगटीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार जमिर शाहाले गरेका थिए ।

