राप्तीमा नीति तथा कार्यक्रम सम्बन्धि सुझाव संकलन : युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड
भालुवाङ २२ जेठ । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी सुझाव संकलन कार्यक्रम गरेको छ।
गाउँपालिकाले बुधबार पूर्व जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रम आयोजना गरी सुझाव संकलन गरेको हो। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त सुझाव संकलन कार्यक्रममा सहभागीहरूले युवाहरूलाई स्वदेशमै रोक्ने खालका युवा उद्यमशीलता तथा स्वरोजगार सम्बन्धी नीति तथा कार्यक्रमहरू बनाउनुपर्नेमा जोड दिएका थिए। त्यस्तै विकट क्षेत्रका विपन्न नागरिकहरूलाई आधार मानेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताएका छन्।
त्यसैगरी उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारसँगसँगै कार्यक्रममा आगामी आर्थिक वर्षमा बन्ने नीति तथा कार्यक्रममा लागू औषध दुर्व्यसन न्यूनीकरण, उद्यमी–व्यवसायीमैत्री वातावरण निर्माण, सञ्चार नीति निर्माण लगायतका विषयहरू समेटिनुपर्ने धारणा राखिएको थियो। त्यस्तै उनीहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट न्यूनतम आधारभूत आवश्यकताहरू सहज हुने गरी निर्माण गर्न सुझाव दिएका थिए। सो छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकहरूको सल्लाह–सुझावलाई एकीकृत गरेर आगामी नीति कार्यक्रममा समेटिने बताए । सीमित स्रोत–साधनका कारण आफूहरूले सोचेअनुसार विकास गर्न कठिनाइ भएको अध्यक्ष विष्टको भनाइ थियो।
अध्यक्ष विष्टले गाउँपालिकाले बजेट निर्माण हुनु अगावै पूर्वबजेट सम्बन्धी सरोकारवाला नागरिकहरूसँग छलफल गर्दा वास्तविक समस्याको पहिचान भई मागको आधारमा नभई आवश्यकताको आधारमा बजेट विनियोजन गर्न सहज हुने धारणा व्यक्त गरे। पूर्व बजेट सम्बन्धी छलफलले नीति तथा बजेट निर्माण गर्दा बजेट लक्षित वर्गसम्म पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले सहभागीहरूको सल्लाह–सुझावअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण गरिने बताए।
कार्यक्रममा पालिकाका उपाध्यक्ष कमलापती चाैधरी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु तथा पालिका भित्र रहेका विभिन्न संघसंस्थाका प्रमुख, प्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुकाे सहभागीता रहेको थियो । पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि अन्य विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग पनि चरणमा रुपमा निरन्तर छलफल गरिरहेको जनाएको छ।

