बराखुट्टी र खुरुरियाका ४८ जना किसानलाई घर बगैंचा व्यवस्थापन तालिम
भालुवाङ १९ जेठ । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङ सँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित “एकीकृत सामुदायिक विकास परियोजना” अन्तर्गत “घर बगैंचा व्यवस्थापन तालिम” प्रदान गरिएको छ।
परियोजनाको “खाद्य तथा पोषण सुरक्षा” कार्यक्रमअन्तर्गत राप्ती गाउँपालिका–२ बराखुट्टीका ३२ जना र वडा नं. ३ खुरुरियाका १६ जना गरी जम्मा ४८ जना किसान सहभागी बनेका थिए। तालिम संस्थाका कृषि अधिकृत तथा सामाजिक परिचालकद्वारा सहजीकरण गरिएको थियो।तालिममा किसानहरुलाई आफ्नै घरआँगनमा विभिन्न प्रकारका तरकारी, फलफूल, जडिबुटी, मसालाबाली, पशु, पन्छी, माछा आदि उत्पादन गरी परिवारको पोषण सुरक्षामा टेवा पुर्याउने तथा थप उत्पादनलाई बजारमा बिक्री गरेर आम्दानी बढाउने उपायहरूबारे प्रशिक्षण दिइएको थियो।
तालिमपछि सहभागी सबै किसानहरुलाई खेतीपातीमा सहयोग पुर्याउने उद्देश्यले सिंचाइका लागि हजारी १/१ थान वितरण गरिएको छ।वि.सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापना भएको नामसालिङ सामुदायिक विकास केन्द्रले वि.सं. २०७४ देखि दाङको राप्ती गाउँपालिकामा “एकीकृत सामुदायिक विकास परियोजना” सञ्चालन गर्दै आइरहेको छ। कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा कार्यरत यस संस्थाले समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउने र जलवायु अनुकूलन अभ्यासमा अभ्यस्त गराउँदै समुदाय विकासलाई अघि बढाउँदै आएको कार्यक्रम संयोजक शशांक आचार्यले जानकारी दिए।

