देउखुरीमा युवाले चलाए प्रदेश सभा



देउखुरीमा युवाले चलाए प्रदेश सभा
देउखुरी १९ जेठ । लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको आयोजनामा देउखुरीमा सम्पन्न ‘नमुना युवा संसद अभ्यास कार्यक्रम’ मार्फत युवाहरूले प्रदेश सभाको अभ्यास गरेका छन् । जेठ १६ देखि १९ गते सम्म सितगंगा नगरपालिका–८ सातमारामा सञ्चालन भएको ४ दिने कार्यक्रममा सहभागी युवाहरूले सभामुख, उपसभामुख, सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्दै संसदीय प्रक्रिया, नीति निर्माण, बजेट निर्माण र बहसको अभ्यास गरेका हुन् ।
कार्यक्रममा प्रदेशका १२ जिल्लाबाट ४० जना युवाहरूको सक्रिय सहभागिता थियो । उनीहरूले युवा उद्यमशिलता, स्थानीय उत्पादन प्रवर्द्धन, ‘एक वडा एक उत्पादन’, शैक्षिक गुणस्तर सुधार, प्रविधिको प्रयोग, प्रयोगशालासँगको समन्वय, र युवा परिषद् गठनसम्बन्धी कानुनी पक्षमा बहस गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रदेश युवा परिषद् विकास समितिका कार्यकारी उपाध्यक्ष हंसराज खनालले कार्यक्रमले युवाहरूको नेतृत्व विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, “नमुना युवा संसद कार्यक्रम केवल औपचारिक अभ्यास मात्र होइन, यो भावी जिम्मेवार नेताहरू तयार पार्ने प्लेटफर्म हो । यसले लोकतन्त्र, सहिष्णुता र सहमतिको मूल्यलाई बुझ्न सहयोग गर्छ ।”
लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले अभ्यासशालाको रूपमा युवाहरूले पाएको अवसरको प्रशंसा गर्दै भने, “यो सिकाइको मञ्च हो । संसदीय प्रक्रिया, नीति प्रस्तुति, बहस र नेतृत्व क्षमताको विकासमा यस्तो अभ्यासले उल्लेखनीय योगदान दिन्छ ।” कार्यक्रमका प्रमुख प्रशिक्षक प्रकाश उपाध्यायले युवा संसद अभ्यास मार्फत प्रदेश सभामा हुने प्रक्रिया जस्तै अभ्यास गरिएको जानकारी दिए । उनले भने, “शिक्षा, उत्पादन र उद्यमशिलताको विषयमा युवाहरूको गहिरो चासो देखिएको छ । उनीहरूले जोशका साथ धारणा राख्दै नीति तथा कार्यक्रम र बजेट तयार गरेका छन् ।”
परिषद्का कार्यकारी उपाध्यक्ष खनालको अध्यक्षता एवम् प्रदेश सभा सदस्य खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएकाे हाे । युवा तथा खेलकुद मन्त्रालयका सचिव बलराम ढकाल लगायत वक्ताहरूले नमुना युवा संसद कार्यक्रमले युवाको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । ‘ज्ञान, सीप र प्रविधिमा आधारित स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा युवाहरूको नेतृत्व र नीति निर्माण क्षमतालाई उन्नत बनाउने उद्देश्य राखिएको आयोजक समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे