आशाका किरण संस्थाद्धारा भालुवाङ बजार क्षेत्रको सडक, नाला र खोल्साहरूमा सरसफाई
भालुवाङ १७ जेठ । “सके सफा गराै, नसके फोहोर नगराैं” भन्ने नारालाई सार्थक बनाउँदै आशाका किरण संस्थाले सञ्चालन गरेको एक हप्ते सरसफाई सचेतना कार्यक्रम अन्तर्गत शनिबार भालुवाङ बजार क्षेत्रको सडक, नाला र खोल्साहरूमा सरसफाई गरेको छ ।

स्थानीयस्तरमा वातावरणीय स्वच्छता र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले सञ्चालन गरेको कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, टोल विकास संस्था र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा भएको सरसफाई अभियानले भालुवाङ बजार क्षेत्रलाई सफा राख्न स्थानीयको चासो र सक्रियता बढाएको छ। उनले भने, “सफा र स्वस्थ वातावरणले मात्रै समृद्ध र सुरक्षित समाज निर्माण सम्भव छ। यो अभियानले स्थानीय समुदायलाई स्वच्छताको महत्व बुझाउन ठूलो योगदान पुर्याएको छ।” कार्यक्रममा नाला, सडकछेउ र खोल्सामा जमेको प्लास्टिक, झोला, फोहोर तथा मलमुत्रजन्य पदार्थ हटाइ व्यवस्थित रूपमा संकलन गरिएको थियो।

आशाका किरण संस्थाले आगामी दिनहरूमा विद्यालय, टोल र सार्वजनिक स्थलमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ। सरसफाई अभियानले भालुवाङको मुहार परिवर्तन गर्न थालिएको स्थानीयवासीको प्रतिक्रिया छ।

