राप्तीमा अवकाश प्राप्त प्रहरी र युवालाई विपद् व्यवस्थापन क्षमता विकास तालिम प्रदान



राप्तीमा अवकाश प्राप्त प्रहरी र युवालाई विपद् व्यवस्थापन क्षमता विकास तालिम प्रदान

भालुवाङ १६ जेठ। दाङको राप्ती गाउँपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकका लागि एकदिने क्षमता विकास तालिम शुक्रबार सम्पन्न गरेको छ।

विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, पुनर्निर्माण र पुनःस्थापनाका लागि स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको हो। राप्ती गाउँपालिकाको आयोजनामा तथा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङको प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको तालिममा अवकाशप्राप्त नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, भारतीय सेना तथा ऊर्जाशील युवाहरूको सहभागिता रहेको थियो। तालिममा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुवाङका सहायक निरीक्षक तथा विपद् व्यवस्थापन प्रशिक्षक केशव कुमार बुढाले विपद् अवस्थाको मूल्याङ्कन, तत्कालीन प्रतिकार्य प्रक्रिया, प्राथमिक उपचार, उद्धार र समन्वय सम्बन्धी विषयमा प्रशिक्षण भएको थियो। तालिममा ४० जना सहभागी थिए।

कार्यक्रमको समापनमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपद् व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक वडामा विपद् व्यवस्थापन समिति गठन गरिने जानकारी दिए । उनले विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना र तालिम आवश्यक रहेको धारणा व्यक्त गरे। सशस्त्र प्रहरी बल ज्वालामाई गणका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार धितालले विपद् व्यवस्थापनको तयारी र समन्वयमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सक्रिय सहकार्य अपरिहार्य रहेको बताए । कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे