बुद्ध जयन्तीमा सभामुख घर्ती मगरद्वारा शुभकामना व्यक्त



बुद्ध जयन्तीमा सभामुख घर्ती मगरद्वारा शुभकामना व्यक्त

भालुवाङ २९ वैशाख । लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले अरुको अस्थित्व स्वीकार गर्ने, सहि र गलत छुट्टाएर मात्र जीवनमा लागु गर्ने बुद्धको विचार अनुसरण गर्न सकेमा मानव कल्याण हुने बताएका छन् ।

बौद्ध दर्शनका प्रवर्तक, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औं बुद्ध जयन्तीको पावन अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नुहुदै उनले यो विचार नै मानव कल्याणको सद् बिचार भएको बताएका हुन् । “शान्तिका अग्रदुत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको  बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ । ” शुभकामना सन्देशमा उल्लेख छ – “शान्तिका अग्रदुत गौतम बुद्धको एउटा महत्वपूर्ण पक्ष त्याग नै हो । मानिसको दुःखको अन्त्य र ज्ञानप्राप्तीका लागी दरवारको सुखसयल जीवन छाड्नु उहांको त्याग हो ।” नेपाली जनताको त्याग, समर्पण र वलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता आदीको ब्यावस्था भएको र ति उपलब्धीहरुलाई रक्षा र प्रवद्र्धन गर्दै सम्मुनत संमृद्ध मुलुक निर्माणमा लाग्नु सबैको दायित्व रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्धारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवम् भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा लिंदै बुद्ध जयन्ती मनाउने गरिन्छ ।
सभामुख घर्ती मगरले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुकको विविधता भित्रको एकता नै हाम्रो विशेष पहिचान रहेको उल्लेख गर्दै  बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान एवं सद्भाव सहित अघि बढ्न अभिप्रेरित गरिरहेका शुभकामना सन्देशमा बताएका छन् ।

बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने उनले बिश्वास व्यक्त गरेका छन्। साथै सभामुख घर्ती मगरले आजैको दिन परेको उभौली पर्व, अन्तराष्ट्रिय नर्स दिवसको समेत सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे