देउखुरीकाे भालुवाङ र शान्तिपुर चैतेमा पशु स्वास्थ्य शिविर, १ सय १७ जना किसानले लिए सेवा
भालुवाङ २८ बैशाख । दाङ–देउखुरीको राप्ती गाउँपालिका–१, भालुवाङ र शान्तिपुर चैतेमा आज आईतबार एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
भालुवाङ र शान्तिपुर चैतेमा सञ्चालन भएको शिविरमा १ सय १७ जना किसानका २ हजार ३ सय ३९ पशुचौपायामा खोप लगाउने देखि उपचार सम्म गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

जस अन्तर्गत ३ सय ५० बाख्रामा पिपिआरको खोप लगाईएको छ भने १६ वटा कुकुरलाई रेबिज बिरूद्धको खोपमा लगाईएको पशु सेवा अधिकृत न्यौपानेले बताए । यस्तै १ हजार ४ सय १३ वटा बाख्राका लागि जुका, जुम्रा र खटिरा र भिटामिनको औषधी बितरण गरिएको छ । यस्तै ३ सय ५० वटा लोकल कुखुरालाई भ्याक्सिन लगाईएको छ, भने १ सय वटा गाईगोरू र ६० वटा भैँसीलाई भिटामिन र जुकाको औषधी बितरण गरिएको पशु सेवा अधिकृत न्यौपानेले जानकारी दिए ।
शिबिरमा बाख्रामा पिपिआरको खोप र कुकुरमा रेबिज बिरूद्धको खोप लगाईएको थियो । त्यस्तै बाख्रा, कुखुरा, गाई, गोरू, भैंसी र कुकुरलाई जुका, जुम्रा, घाउखटिरा, ज्वरो, छरेटीको औषधी बितरण गरिनुका साथै माइनर सर्जिकल र बन्ध्याकरण समेत गरिएको पशु सेवा अधिकृत न्यौपानेले जानकारी दिए ।

केन्द्रले यस बर्ष दाङका तीन ठाउँमा पशु सेवा शिविर सञ्चालन गरेको छ । दाङको दंङ्गीसरण, गढवा र राप्तीमा गरी तीन ठाउँमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको केन्द्रका प्रमुख डा.प्रतिमा बिष्टले जानकारी दिइन् । उनले पशु अस्पतालको पहुँच देखि टाढा रहेका तथा किसानको आवश्यकता र मागलाई समेत मध्येनजर गरेर किसानहरूलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आईरहेको बताइन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.प्रतिमा बिष्टको अध्यक्षतामा भएको शिविरको उद्घाटन लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गरेका थिए । शिविरको उद्धाटन गर्दै मन्त्री पन्थीले सरकार कृषकहरूको सुखदुखमा साथमा रहेको बताए । उनले कृषि क्षेत्रमा देखिएका समस्या र किसानका आवश्यकतालाई प्रदेश सरकार अगामी बर्षको नीति, कार्यक्रम तथा बजेटबाट सम्बोधन गर्दै जाने बताए ।

यस्तै शिविर उद्घाटन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले कृषि क्षेत्रको विकासबाट मात्र देशलाई आर्थिक रूपमा आत्मानिर्भर बनाउन सकिने बताए । उनले तीन तहको सरकारको प्राथमिकता कृषि उत्पादन र उद्यमशिलता क्षेत्रको विकास प्राथमिकता बन्नुपर्ने बताए ।
त्यस्तै शिविर उद्धाटन कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले व्यवसायिक रूपमा पशुपालन गर्न सके मात्र राज्यको लगानीले उपलब्धी हासिल गर्ने बताए । उहाँले निर्वाहामुखी पशुपालनले किसानको स्तरवृद्धि पनि नहुने र राज्यको लगानीको प्रतिफल नआउने बताए ।
कार्यक्रममा राप्ती गाउँपालिका–१, नम्बर वडा अध्यक्ष गेमबहादुर खड्का, राप्ती गाउँपालिका पशु सेवा प्रमुख दामोदर आचार्य र डा. विनय थापा लगायतका वक्ताले बोलेका थिए । कार्यक्रमको सञ्चालन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा अधिकृत कृष्ण न्यौपानेले गरेका थिए ।


