लुम्बिनी प्रदेशमा बितेको १० महिनामा ११ सय २४ वटा विपद्का घटना, २ सय १६ जनाको मृत्यु
भालुवाङ २६ बैशाख । लुम्बिनी प्रदेशभरि बितेको १० महिनामा १ हजार १ सय २४ वटा भएका विपद्का घटनामा परी २ सय १६ जना नागरिकको मृत्यु भएको छ । आर्थिक बर्ष २०८१/०८२ को साउन देखि २०८२ बैशाख २४ गते सम्म करिब १० महिनाको अबधिमा उक्त विपद्को घटनामा परी २ सय १६ जनाको ज्यान गएको एक तथ्याङ्कले देखाएको छ ।
सुपर टु परियोजनाको सहयोगमा लुम्बिनी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको मानवीय सहायता बिषयगत क्षेत्र सम्बन्धी अभिमूखिकरण तथा प्रदेश विपद् प्रतिकार्य ढाँचा मस्यौदा सम्बन्धी छलफल कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको छ ।
लुम्बिनी प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा बितेको १० महिनामा १ हजार १ सय २४ विपद्का घटना घटेका छन् । जसबाट २ सय १६ जना नागरिकको ज्यान छ । जसमा सबै भन्दा बढी पानीमा डुबेर भएको घटनामा मृत्यु भएको छ । बितेको १० महिनामा १ सय ४७ वटा पानीमा डुबेर भएको घटनामा परी १३५ जना मानिसको मृत्यु भएको छ भने १५ जना घाइते भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी गंगाधर पाण्डेयले जानकारी दिए ।
जस अर्न्तगत ४ सय ७८ वटा आगलागीको घटनामा परी १६ जना मानिसको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । यस्तै १ सय २३ वटा सर्पदंशको घटनामा परी ११ जना मानिसको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन् । त्यस्तै ३१ वटा बाढीको घटनामा परी १२ जना मानिसको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । त्यस्तै ३५ वटा पहिरोको घटनामा परी ८ जना मानिसको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । त्यस्तै ४७ वटा भएको चट्याङ्गको घटनामा परी ८ जना मानिसको मृत्यु भएको छ भने ३४ जना घाइते भएको मन्त्रालयका सुचना अधिकारी पाण्डेयले बताए ।
यता ६५ वटा जनावरको आक्रमणमा परी भएको घटनामा १० जना मानिसको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । त्यस्तै २६ वटा बिषाक्त खानाको सेवनबाट २ जनाको मृत्यु भएको छ भने १ सय ९ जना घाइते भएको मन्त्रालयका सुचना अधिकारी पाण्डेयले बताए । यस्तै डुबानका १० र हावाहुरीका ३५ घटना भएका छन् । बितेको १० महिनामा डुबान र हावाहुरीको घटनामा परि कसैको मृत्यु र कोही पनि घाइते नभएको मन्त्रालयका सुचना अधिकारी पाण्डेयले जानकारी दिए ।

जसमा ५ सय २ जना घाइते भएका छन् भने अहिले सम्म १४ जना मानिस बेपत्ता रहेका छन् । यस्तै बिपद्मा परि ३ सय ९९ पशुचौपायको मृत्यु भएको छ भने २ सय १९ वटा घरमा पूर्णमा क्षति भएको छ । यस्तै विपद्मा परी २५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने २ सय गोठमा पूर्णमा क्षति भएको मन्त्रालयका सुचना अधिकारी पाण्डेयले जानकारी दिए ।
बितेको दश महिनामा भएका विभिन्न बिपद्मा गरी कुल १६ करोड २८ लाख २४ हजार ६५ बराबरको क्षति समेत भएको छ । जसमा सबै भन्दा बढी क्षति आगलागीबाट भएको घटनामा भएको तथ्याङ्कले देखाएको छ । आगलागीमा परी ११ करोड ६८ लाख ९९ हजार २ सय ६५ बराबरको क्षति भएको छ । त्यस्तै अधिकबर्षाबाट २ करोड ३३ लाख ७१ हजार, बाढीबाट ३३ लाख ६ हजार, पहिरोबाट १ करोड १३ लाख ४५ हजार, चट्याङ्गबाट ५० लाख ७ हजार, जनावरको आक्रमणबाट ४६ लाख १८ हजार, डुबानबाट १२ लाख ५१ हजार र हावाहुरीबाट २७ लाख ३ हजार बराबरको क्षति भएको मन्त्रालयका सुचना अधिकारी गंगाधर पाण्डेयले जानकारी दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बाल्दै तीन तहका सुरक्षा निकायका प्रतिनिधिहरुले विपद् प्रतिकार्यका लागि आफूहरु संग आवश्यक जनशक्ति र सामाग्री अभाब रहेको बताएका छन् । उनीहरुले विपद्का समयमा उद्धारका लागि अपर्याप्त सामाग्रीका बीच पनि निकै कठिनपूर्ण तरिकाले उद्धार लगायतका कार्यहरु गर्नुपर्ने बाध्यता रहेको बताएका थिए । यस्तै छलफल कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राहत बितरण देखि बालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका नागरिक र समलिङ्गी लगायतका नागरिकहरुलाई विपद्का बेला उद्धार लगायतका कार्यमा एउटै शैलीमा उद्धार तथा राहत बितरण गर्न नहुने लगायतका बिषयमा महत्वपूर्ण सुझाब दिएका थिए ।

मन्त्रालयका उप—सचिव भुपेन्द्र पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको छलफल कार्यक्रममा स्वास्थ्य मन्त्रालयका बरिष्ठ अधिकृत नोदनारायण चौधरी, युएनएफपीएका प्रदेश प्रमुख राम थापा, युनिसेभका रिब्दी शर्मा, मध्यपश्चिम पित्तना लमहीका सेनानी टेकराज जोशी, सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक दिपकबहादुर पलामी र प्रदेश प्रहरी कार्यालय तुलसीपुरका विपद् सम्पर्क व्यक्ति प्रहरी निरीक्षक सरस्वती अधिकारी लगायतका बक्ताले आ—आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी गंगाधर पाण्डेयले गरेका थिए ।

