मजदुर दिवसका अवसरमा राप्तीका ८ सय बढी मजदुरको निशुल्क दुर्घटना बीमा र स्वास्थ्य परिक्षण
सिसहनियाँ १८ वैशाख । दाङको राप्ती गाउँपालिकामा ८ सय ४५ जना मजदुरको निःशुल्क दुर्घटना बीमा तथा स्वास्थ्य परीक्षण गरिएको छ।
विश्व मजदुर दिवसको अवसरमा गाउँपालिकाले लायन्स क्लब अफ राप्तीको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरेर उक्त सेवा उपलब्ध गराएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र वरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठको व्यक्तिगत पहलमा प्रति व्यक्ति एक लाख रुपैयाँ बराबरको निःशुल्क दुर्घटना बीमा गरिएको हो। त्यस्तै कार्यक्रमा बुटवलका विभिन्न अस्पतालहरूमा कार्यरत वरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठको नेतृत्वमा रहेको जनरल ल्याप्रास्कोपिक सर्जन डा. कमल कार्की, रेडियोलोजिस्ट डा. विजय भण्डारी, पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. सुमन आचार्य र डा. आशाराम धामी लगायतले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता र लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजी थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियो।
साे कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारुले श्रमिक वर्गको योगदानबिना कुनैपनि विकास सम्भव नभएको उल्लेख गर्दै श्रमिकप्रति संवेदनशील सोच र समाजवादी नीति आवश्यक रहेको धारणा व्यक्त गरे। “श्रमिकका हक र हितको संरक्षण गर्ने राज्य संरचना समाजवादी सोचले मात्र सुनिश्चित गर्न सक्छ,” उनले भने। त्यस्तै अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाले सामाजिक न्यायका आधारमा श्रमिकहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै योजना निर्माण र कार्यान्वयन गरिरहेको जानकारी दिए । साथै, आगामी वर्षदेखि पालिकाभित्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्य रहेको पनि उनले बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी,लायन्स क्लब अफ राप्तीका अध्यक्ष ओमप्रसाद शर्मा, वरिष्ठ चिकित्सक डा. राजकृष्ण श्रेष्ठ, सगरमाथा लुम्बिनी इन्सुरेन्सका लुम्बिनी प्रदेश प्रमुख विश्वदीप नेपाल लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी, समाजसेवी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा उल्लेख्य संख्यामा मजदुरहरूको सहभागिता थियो। कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

