दाङ-देउखुरीकाे लठ्ठहवामा बस दुर्घटना, तीन जना गम्भीर घाइते

सिसहनियाँ ५ चैत। कपिलवस्तुको कृष्णनगरबाट दाङतर्फ आउँदै गरेको यात्रुबाहक बस राप्ती गाउँपालिका–५ लठ्ठहवामा आज शुक्रबार साँझ दुर्घटनामा परेको छ।
ना ३ ख ६९९६ नम्बरको उक्त बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही-भालुवाङ सडक खण्डकाे लठ्ठहवाकाे सडक किनारमा पल्टिएको हो। बसमा करिब ४० जना सवार रहेको र दुर्घटनामा परी २० जना यात्रु घाइते भएको दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। एक महिलालाई बसले च्यापेकाले जेसिबीको सहायताले उद्धार गरी अस्पताल पठाइएको छ। अन्य घाइतेहरूलाई लमही अस्पताल र सिसहनियाँतर्फ लगिएको छ।
तीव्र गतिका कारण बस अचानक अनियन्त्रित भई सडक किनारमै पल्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उद्धार कार्य जारी रहेकोले घाइतेहरूको यकिन संख्या अझै पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ।