संसद बिघटन बिरुद्ध देउखुरीकाे लमहीमा नेपाली काँग्रेसकाे बृहत्त प्रदर्शन



संसद बिघटन बिरुद्ध देउखुरीकाे लमहीमा नेपाली काँग्रेसकाे बृहत्त प्रदर्शन

लमही १३ पुस । बर्तमान सरकारका बिरुद्ध दाङ देउखुरीमा हजारौ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता स्वतस्फुर्त रुपमा सडकमा उत्रिएका छन् । नेपाली कांग्रेस दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको बिरोध सभालाई झन्डै एक दर्जन नेताले सम्बोधन गरेका छन् ।

बिरोध सभालाई सम्बोधन गर्दै अन्य वक्ताहरुले जनताको चाहाना विपरीत काम गरेको भन्दै सरकार नसच्चिए नेपाली काङ्ग्रेसले प्रतिवाद गर्ने चेतावनी दिएका छन । वक्ताहरुले वर्तमान ओली सरकारले सर्बसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै जनताको आँखामा छारो हाल्न खोजेको बताए । केपी ओलीको राष्ट्रवाद निर्लज्ज भएको र विद्यमान संविधानलाई वर्तमान सरकारले बलात्कार गरेको समेत आरोप लगाए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य पार्वता डिसी चौधरीले कम्युनिष्टको पछिल्लो गतिविधि देखेर जनता वाक्क दिक्क भैसकेको बताईन । उनले सर्बहारा वर्गको पार्टी भनेर जनतालाई भ्रममा पारेको आरोप लगाइन ।

एक प्रसंगमा केन्द्रिय सदस्य चौधरीले प्रधानमन्त्री ओलीलाई प्रचण्ड र नेपाल समुहले घेराबन्दी गरेर काम गर्न नदिएको यथार्थ भएको बताउदै पार्टीको अध्यक्ष भएको नाताले मिलाएर लैजान नसक्नु ओलीको कमजोरी भएको बताईन ।

त्यस्तै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरेले बर्तमान सरकारले सर्बसत्तावाद लाद्न खोजेको आरोप लगाए । उनले हिजका दिनमा कम्युनिष्टले अब कांग्रेस सकियो, बत्ति बालेर खोज्नु पर्छ भनेर हांसो मजाक उडाउथे अब भने कांग्रेसले गुगलबाट खोजेर कम्युनिष्ट कहाँ छन् भनेर खोज्नु पर्ने अवस्था आएको बताए ।

त्यस्तै सांसद बिमला नेपालीले देशमा आमुल परिवर्तनका लागि कम्युनिष्टसंग कांग्रेसको लडाई शुरु भएको बताईन । कम्युनिष्ट पार्टीसंग जनता आजित भएको भन्दै अब समग्र जनताले देश र जनताको लागि कांग्रेस नै ठिक रहेछ भन्न लागि सकेको नेपालीको भनाई छ ।

नेपाली कांग्रेस दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ ले देउखुरीको लमहीमा आयोजना गरेको कार्यक्रमलाई नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति प्रवल रसाइली, नेपाल तरुण दल क्षेत्रीय सयोजक किरण पौडेल, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य नवाफ अलि, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष पवनकुमार यादव, जिल्ला समन्वय समिति दाङका सदस्य लोका विक, लोकतान्त्रिक वैदेशिक रोजगार संघका जिल्ला अध्यक्ष किरण किशोर घिमिरे, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सभापति अर्जुन योगी, राप्ती गाउँपालिका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य नुमानन्द सुवेदी, पूर्व महासमिति सदस्य मधु न्यौपाने, नेपाली काङ्ग्रेस जिल्ला सदस्य हरि भुसाल, पूर्व जिल्ला उपसभापति नारायण बिसी, महासमिति सदस्य जानकीलाल बस्नेत, जिल्ला उपसभापति हिरालाल चौधरी लगायतले सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको सभापतित्व तथा केन्द्रिय सदस्य पार्वता डिसी चौधरीको प्रमुख आतिथ्यतामा भएको बिरोध सभा कार्यक्रममा क्षेत्रीय सचिव चुडामणि आचार्यले स्वागत तथा संचालन क्षेत्रीय सचिव हरिहर शर्मा घिमिरेले गरेका थिए । उपस्थित सबैलाई नेपाली कांग्रेस प्रदेशसभाका सभापती तारा डिसीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे