दाङको राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न



दाङको राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न

सिसहनियाँ ३१ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. ७, छाेट्की सिसहनियाँमा केराबाट चिप्स बनाउने ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ। “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम आइतबार सम्पन्न गरिएको हो।

समापन कार्यक्रम वडा अध्यक्ष सिताराम चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष चौधरीले सहभागी महिलाहरूले तालिममा प्राप्त सीपलाई व्यवहारमा उतारी स्वरोजगार बन्ने अपेक्षा व्यक्त गरिन्। साथै, उनले उत्पादन हुने वस्तुहरूको बजारीकरणमा पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

तालिममा सहभागी सन्ध्या अधिकारीले आफूहरूले नयाँ सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्दै यसले आत्मनिर्भर बन्ने मार्ग खुलाएको बताए।वडा नं. ७ का १५ जना महिलाहरूको सहभागिता रहेको तालिमको प्रशिक्षकमा हरिचन्द्र सिँहले रहेका थिए। समापन कार्यक्रममा वडा सदस्यहरू सावित्री चौधरी, उमा परियार, समाजसेवी यमबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो। तालिम पश्चात सहभागीहरूलाई चिप्स उत्पादनका लागि आवश्यक उपकरणसमेत सहयोग गरिएको उद्यम विकास शाखा प्रमुख बिनिता चौधरीले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे