नेपाल चेम्बरको ७४ औं साधारणसभा : देश विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : प्रधानमन्त्री ओली



नेपाल चेम्बरको ७४ औं साधारणसभा : देश विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौं २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तिव्र गतिमा विकास गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७४ औं वार्षिक साधारणसभा एवम चेम्बर दिवसलाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले लोकतन्त्र भन्दा जेठो संस्था नेपाल चेम्बर अफ कमर्श रहेको बताउँदै सरकारलाई महत्त्वपूर्ण योगदान दिँदै आएको बताएका छन् । ‘चेम्बर आफै लगानीकर्ता हो, आफै निजी हो अनि आफै उद्यमी हो । देश भित्र देश बाहिरबाट यसले सरकारलाई महत्त्वपूर्ण योगदान दिँदै आइरहेको छ । यसका लागि चेम्बरलाई धन्यवाद छ,’ उनले भने । प्रधानमन्त्री ओलीले चेम्बरको खुलेरै प्रशंसा समेत गरे ।

‘चेम्बरले हाल सम्म यो पुगेन त्यो पुगेन भनेको छैन । चेम्बरले सहीलाई सही गलतलाई गलत नै भन्ने गरेको छ । मलाई खुसी लागेको छ । चेम्बर सम्बन्धी नीति तथा कार्यक्रम सरकारले तपाईंले भने अनुसार नै ल्याउने छ । यसमा ढुक्क हुनुहोस्,’ उनले भने । चेम्बरले अन्तर्राष्ट्रियसतरमा आफ्नो स्थायित्वलाई विश्वका ७० देशमा विस्तार गरेकोमा समेत उनले धन्यवाद व्यक्त गरे ।  उनले बाहिर लगानीभन्दा स्वदेशमै लगानी गर्नुपर्नेमा जोड दिए । यसै गरी प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्ने वातावरण सिर्जना हामी आफैले गर्नुपर्नेमा जोड दिए ।

‘सरकार तपाईंहरूसँग छ यसमा कुनै समस्या छैन । सरकार कमिसन खानका लागि हैन, देशको लागि हौं । सरकार दुखी गरिबका साथमा छ, शिक्षक उद्यमी लगायत सबैका लागि छ,’उनले भने । त्यस्तै प्रधानमन्त्री ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेस सँगको सहयात्रा ०८४ को चुनावपछि पनि कायम रहने बताएका छन् । उनले भोली नै सरकार परिवर्तन भइहाल्छ कि भन्ने अवस्था नरहेको जिकिर गरे । ‘देशका सबैभन्दा ठूला प्रमुख योगदान गरेका इतिहास बोकेका जिम्मेवार पार्टीहरू कम्फर्टेबल मेजोरिका साथ सरकारमा छन् । स्थिरता स्थायित्व छ, यो रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले जे भनिरहेको छु, भोलि सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति छैन । कमसेकम ०८४ को चुनावसम्म जान्छ । त्यसपछि पनि यो शिलशिला कायम रहन्छ ।’देशमा दुई ठूला दल एक ठाउँमा भएको र ढुक्क भएर आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने कुरामा अघि बढ्न व्यवसायीलाई उनले आग्रह गरेका छन् ।

साढे सात दशकदेखि निजी क्षेत्रको गतिविधिमा चेम्बरले महत्त्वपूर्ण भूमिका खेलेको छ : अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले चेम्बर अफ कमर्सले साढे सात दशकदेखि निजी क्षेत्रको नेतृत्व गर्दै आएको बताएका छन् ।

चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्वद्धि तथा अन्य व्यावसायीक गतिविधिका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको दाबी उनको छ । उनले चेम्बरले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरिरहेको बताए । अध्यक्ष अग्रवालका अनुसार चेम्बरको स्थापनालगत्तै २००८ सुरुवात भएको बजेट प्रणालीको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रहेको थियो भने चालू आर्थिक वर्षमा सो रकम १८ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।

उनले चेम्बरले राज्यको अर्थतन्त्रमा विकास र निजी क्षेत्रको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘सम्पूर्ण उद्यमी व्यवसायीहरूका लागि आत्मसम्मान र अपनत्व बोध गर्न सफल भएको छ । सरकार र निजी क्षेत्रका लागि चेम्बरले आज एउटा अपरिहार्य प्रतिनिधित्व स्थापित गरिरहेको छ ।’ अध्यक्ष अग्रवालले उद्योग वाणिज्य लगायतका समग्र अअर्थिक क्षेत्रमा नीति नियम तथा कार्ययोजना बनाउन र कार्यान्वन गर्न सरकारलाई सकारात्मक सहयोग गरेको बताए । यस्तै उनले कार्यक्रममा निजी क्षेत्रमा रहेका चुनौती र  समस्या बारेमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे