भालुवाङमा नागरिक सुनुवाइ कार्यक्रम :  नागरिकका गुनासै गुनासो



भालुवाङमा नागरिक सुनुवाइ कार्यक्रम :  नागरिकका गुनासै गुनासो

भालुवाङ १९ चैत । इलाका प्रहरी कार्यालय भालुवाङले मंगलबार राप्ती गाउँपालिका-१ भालुवाङमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरी निरिक्षक अमरबहादुर माझीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले भालुवाङ बसपार्क व्यवस्थित तथा अनियन्त्रित तरिकाले पार्किङ गरेका गाडीलाई सम्बन्धित ठाउँमा पार्किङ गर्ने वातावरण मिलाउन माग गरेका छन् । त्यस्तै उनीहरूले छाडा पशुचाैपाय नियन्त्रण, टाइम कार्डलाई दिउँसोमा पनि लागू गर्नुपर्ने, काठ तस्करी, नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्न तथा सरसफाइमा ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका थिए ।  सहभागीहरूको सुझावलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक माझीले यातायात समिति र होटल व्यवसायी समिति सँगको सहकार्यमा बसपार्क र अनियन्त्रित गाडी पार्क रोक्न पहल गर्ने बताएका छन् । त्यस्तै उनले भालुवाङ पुल्चोकमा हेल्पडेक्स राखेर सेवा दिन स्थानीयको सहयोग आवश्यक रहेको बताए ।

साथै उनले आर्थिक वर्ष २०८१/०८२ को पुस १५ देखि चैत मसान्तसम्म कुल ६६ सवारी दुर्घटना भएकोमा ५ जनाको मृत्यु भएको र ९५ जना घाइते भएको जानकारी दिए । घाइते मध्ये ४ जना गम्भीर र ६२ जना सामान्य घाइते भएको बताए । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा कुल १३६ सवारी दुर्घटना भएकोमा १२ जनाको मृत्यु र १७८ जना घाइते भएका थिए । घाइते मध्ये ११ जना गम्भीर र १२५ जना सामान्य घाइते भएको प्रहरी निरिक्षक माझीले बताए । त्यस्तै गत आर्थिक वर्ष २०८०/०८१ को पुस १५ देखि चैत १५ गते सम्मको रेकर्ड अनुसार कुल ७८ सवारी दुर्घटना भएकोमा १५ जनाको मृत्यु र १२६ जना घाइते भएका थिए । घाइते मध्ये २ जना गम्भीर र ७६ जना सामान्य घाइते भएको प्रहरी निरिक्षक माझीले बताउनु भयो । यसरी गत आर्थिक वर्ष २०८०/०८१ मा  कुल १०५ सवारी दुर्घटना भएकोमा १८ जनाको मृत्यु र १४७ जना घाइते भएका थिए । घाइते मध्ये ६ जना गम्भीर र ९९ जना सामान्य घाइते भएको प्रहरी निरिक्षक माझीले बताए ।

प्रहरी निरिक्षक माझीले आफू भालुवाङमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले पछि सवारी दुर्घटना न्युनीकरण गर्न स्थानीय तह र सरोकारवाला निकाय सँग नियमित बैठक, पालिकाबाट विभिन्न उपकरण प्रयोग गरि सवारी चेकजाँच, सचेतनामुलक कार्यक्रम, सवारी चालक, सडक प्रयोगकर्ता र यात्रुहरूलाई ट्राफिक नियम पालना गराउन प्रतिवद्वता सहितको हस्ताक्षर कार्यक्रम र भालुवाङ देखि सिंगे खोला सम्म टाइम कार्ड लागू गरेको बताए । प्रहरी निरिक्षक माझीले विभिन्न किसिमका ट्राफिक सचेतनामुलक कार्यक्रमले सडक प्रयोगकर्ता र सवारी चालकहरूमा ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने सोचको विकास भएको बताए ।  त्यस्तै उनले सडकको अवस्था अनुसार सवारी साधानको गति नियन्त्रण, मोटरसाइकल चालकहरूले हेल्मेटको प्रयोगमा वृद्धि भएको र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउन नहुने कुराको ज्ञान भएको बताए । उनले सडक दुर्घटना न्युनीकरणका लागि सञ्चालन गरेको हस्ताक्षर संकलन कार्यक्रमबाट ट्राफिक नियम उल्ङ्घनमा कमी, सडक दुर्घटना न्युनीकरण गर्न सकिने सोचको विकास भएको समेत बताए । त्यस्तै उनले टाइम कार्ड लागू भएदेखि सवारी दुर्घटनामा कमी आएको, लेन अनुशासन कायम गरेको र मृत्यु दरमा कमी भई सडक अवरोध तथा शान्ति सुरक्षामा खलल पुग्ने कार्यमा समेत कमी आएको बताए ।

कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा उद्योगपति जगतप्रसाद पोख्रेल, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्य पार्वती सुवेदी, पुर्व वडा सदस्य पुर्णजंग रेश्मी, टोल विकास संस्थाका अध्यक्ष सुर्य सुवेदी, राप्ती उद्योग वाणिज्य संघका चन्द्रप्रकाश आचार्य, होटल व्यवसायी महेश बेल्वासे, रामजहदी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराज सुवेदी, भालुवाङ खानेपानी सरसफाइ तथा उपभोक्ता समुहका अध्यक्ष हस्तबहादुर गुरूङ, स्थानीय अगुवाहरू पदमबहादुर पुन, रोमलाल विष्ट, भुमि गुरूङ, पत्रकारहरू  महेश रिजाल, जमिर शाहा लगायतका वक्ताहरूले आ-आफ्नो सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन प्रहरी सहायक हवल्दार ठाकुर जिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे