राप्तीका प्रमुख प्रशासकीय अधिकृत पाठकद्वारा सेवा प्रवाह सुधारका लागि छलफल



राप्तीका प्रमुख प्रशासकीय अधिकृत पाठकद्वारा सेवा प्रवाह सुधारका लागि छलफल
भालुवाङ १५ चैत । दाङको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा सचिव, प्राविधिक कर्मचारी र स्वास्थ्य संस्थाका प्रमुखहरूसँग शुक्रबार छुट्टाछुट्टै छलफल गरेका छन्।
प्यूठानको सरुमारानी गाउँपालिकाबाट सरुवा भई राप्ती गाउँपालिकामा आएपछि पाठकले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने तथा समस्या समाधानका उपायहरू खोज्न यस्तो पहल सुरु गरेका हुन्। वडा सचिवहरूसँगको छलफलमा प्रशासनिक सुधार, नागरिकले सेवा लिँदा भोग्ने समस्याको पहिचान र तिनको समाधानबारे छलफल गरेका थिए । सचिवहरूको भूमिका जनमुखी सेवा प्रवाहका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पाठकले थप जिम्मेवार भएर काम गर्न निर्देशन दिए। प्राविधिक कर्मचारीहरूसँगको छलफलमा पाठकले गाउँपालिका भित्र भइरहेका विकास निर्माणका कामहरूको प्रगति, गुणस्तर र समयसीमाबारे जानकारी लिएका थिए । विकास निर्माणले नागरिकको जीवनस्तर सुधार्ने भएकाले कामको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।
स्वास्थ्य संस्थाका प्रमुखहरूसँग छलफल गर्दै उनले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधी आपूर्ति र सेवा प्रवाह सहज बनाउन विशेष ध्यान दिनुपर्ने बताए । नागरिकलाई गुणस्तरीय सेवा दिन स्वास्थ्य संस्थाले हरसम्भव प्रयास गर्नुपर्ने उनले भनाइ थियो। छलफलमा सहभागी कर्मचारीहरूले आफ्ना क्षेत्रका समस्याहरू र समाधानका उपायहरू बारे जानकारी गराए। पाठकले ती समस्याहरू समाधान गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता छलफलले सेवा प्रवाह र विकास कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
उहाँले आगामी दिनमा पनि नियमित रूपमा कर्मचारीहरूसँग छलफल गर्ने योजना रहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे