दाङको राप्ती गाउँपालिका-२ स्यानीघोसमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न



दाङको राप्ती गाउँपालिका-२ स्यानीघोसमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

सिसहनियाँ  १३ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. २ स्यानीघोसमा तीन दिने महिला क्षमता विकास तथा सशक्तीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा २६ जना महिलाको सहभागिता रहेको थियो।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसीले महिला अधिकार, लैंगिक समानता, आत्मनिर्भरता र नेतृत्व विकासका विषयमा प्रशिक्षण दिइन्। उनले महिलाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सहभागिताका अवसरहरूमा अगाडि बढ्नका लागि प्रेरित गरिन्।

पशु विकास शाखा प्रमुख दामोदर आचार्यले पशुपालन र व्यवसाय विकासका विषयमा प्रशिक्षण दिएका भने कृषि विकास शाखा प्रमुख वरसाती गडरियाले आधुनिक कृषि प्रणाली र उत्पादन वृद्धि सम्बन्धी जानकारी दिए।

पञ्जीकरण शाखा प्रमुख नारायणबहादुर राउतले महिलाको कानूनी पहिचान, नागरिकता प्राप्ति प्रक्रिया, विवाह दर्ता, जन्म दर्ता र अन्य कानूनी विषयमा प्रशिक्षण दिए। त्यस्तै, सरसफाइ सुुपरिवेक्षक सुरेश बैमा मगरले व्यक्तिगत र सामुदायिक सरसफाइका उपायबारे जानकारी दिए ।

उद्यम विकास शाखा प्रमुख बीनिता चौधरीले साना व्यवसाय सुरु गर्न आवश्यक सीप र ज्ञानबारे प्रशिक्षण दिए । रोजगार सेवा केन्द्रका राजेश कुमार चौधरीले रोजगारीका अवसरहरू पहिचान गर्न र आर्थिक रूपमा सशक्त बन्ने उपायहरूबारे जानकारी गराए।

समापन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरीले महिलाहरूको आत्मनिर्भरता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रममा वडा नं. १ का अध्यक्ष गेम बहादुर खड्का, वडा सदस्य पीमा गाहा मगरलगायतको उपस्थिति रहेको थियो।

सहभागी महिलाहरूले यस्ता तालिमले आत्मविश्वास बढाएको, नेतृत्व गर्न प्रेरित गरेको र आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता तालिमहरू सञ्चालन गर्न माग समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे