भाँचिएको ह्यान्डिलले पनि तेस्रो भए वीर बहादुर : गाउँपालिकाका कर्मचारीहरूले दिए नयाँ साइकल



भाँचिएको ह्यान्डिलले पनि तेस्रो भए वीर बहादुर : गाउँपालिकाका कर्मचारीहरूले दिए नयाँ साइकल

भालुबाङ १ चैत । राप्ती गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा आयोजित साइकल दौड प्रतियोगितामा वडा नम्बर २ का वीर बहादुर कुमालले तृतीय स्थान हासिल गरे। उनको त्यो जित साधारण थिएन, किनभने उनी पहिल्यै ह्यान्डिल भाँचिएको पुरानो साइकल लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । साधन कमजोर थियो, तर आत्मबल बलियो।

दैनिक ज्याला मजदुरी गरेर जीवन गुजार्ने वीर बहादुरसँग राम्रो साइकल किन्ने आर्थिक अवस्था थिएन। तर साइकल दौडमा भाग लिने उनको चाहना गहिरो थियो। त्यसैले आफ्नो पुरानो, भाँचिएको ह्यान्डिल भएको साइकल लिएर उहाँ मैदानमा उत्रिए दौड सुरु भयो, प्रतिस्पर्धा कडा थियो, तर उनले हिम्मत हारेनन् । साइकल चलाउन असहज थियो, तर उनी आफ्नो लक्ष्यप्रति अडिग रहे। अन्ततः उनले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान हासिल गर्नुभयो। पुरस्कारस्वरूप ३ हजार ५ सय नगद र प्रमाणपत्र पाए ।

तर वीर बहादुरका लागि सबै भन्दा ठूलो उपहार त प्रतिस्पर्धा सकिएपछि आयो। उनको मेहनत र संघर्ष देखेर गाउँपालिकाका कर्मचारीहरू भावुक भए । इन्जिनियर अशोक बेल्वासेले सहकर्मीहरूसँग सल्लाह गरेर उहाँलाई नयाँ साइकल किनिदिने निर्णय गरे। प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले विशेष समारोहमा वीर बहादुरलाई नयाँ साइकल हस्तान्तरण गरे। नयाँ साइकल हातमा पर्दा वीर बहादुरको अनुहारमा चमक छायो। अब उनले अझ आत्मविश्वासका साथ अर्को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अठोट गरे। उनी भन्छन्, “अब अर्को दौडमा पहिलो स्थान ल्याउनेछु, साईकल प्रदान गरेकोमा सबैलाई धन्यवाद।”

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे