बाल कल्याण आधारभूत विद्यालय पहरुवाको ४२ औं वार्षिकोत्सव
सिसहनियाँ २९ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–५ पहरुवामा रहेको बाल कल्याण आधारभूत विद्यालयको ४२ औं वार्षिकोत्सव कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सनिराम चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका शिक्षा अधिकृत बासुदेव खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण विद्यालयका प्रधानाध्यापक कालुसिंह थापाले प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न खेलकुदका विजेताहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । जसमा राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ८ सय र ३ हजार मिटर दौडमा प्रथम स्थान हासिल गर्ने अन्जु सार्की, ज्यावलिङ थ्रो मा दोस्रो स्थान हासिल गर्ने सुनिता तिवारीलाई नगद सहित पुरस्कृत तथा सम्मान गरिएको थियो ।
भने विद्यालय स्तरीय खेलकुदका बिजेताहरुलाई मेडल र प्रमाण–पत्र वितरण र २०८० सालको वार्षिक परिक्षामा विद्यालय प्रथम, द्धितीय, तृतीय तथा कक्षा १ देखि ८ सम्मका कक्षा प्रथम, द्धितीय, तृतीय हुने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न साँसकृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा राप्ती गाउँपालिका कार्यपालिका सदस्य राजेन्द्र पुजाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिक्षक अनुपम योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षकद्धय शरदचन्द्र थापा र बलदेव खनालले गरेका थिए ।
