धार्मिक पर्यटन प्रवद्धन र विकासका लागि नीतिगत पहल आवश्यक छ : प्रदेशसभा सदस्यहरु

भालुवाङ २२ माघ । लुम्बिनी प्रदेशसभा अन्तर्गत अर्थ, उद्योग तथा पर्यटन समितिका सदस्यहरुले धार्मिक पर्यटनको प्रवद्धन र विकासका लागि नीतिगत रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । दायित्व संस्थाले दाङ—देउखुरीको भालुवाङमा आयोजना गरेको फेलोशिप नीति संवाद अन्तरक्रिया तथा छलफल कार्यक्रम बोल्दै प्रदेशसभा सदस्य तथा समितीका सदस्यहरुले यस्तो बताएका हुन् ।
समितीका सभापति तथा प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै समितीका सदस्य तथा प्रदेशसभा सदस्यहरु तुलसीप्रसाद चौधरी, राजु खनाल र होमा बेल्बासे (केसी)ले लुम्बिनी प्रदेशलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्दै समग्र राष्ट्रका लागि आम्दानीको स्रोत विस्तार गर्न सकिने बताएका थिए ।
उनीहरुले धार्मिक मान्यता, सांस्कृतिक परम्परा र सम्पदालाई सुदृढ गर्दै दिगो रूपमा अघि बढ्न नीतिगत प्रयास आवश्यक रहेको बताउँदै सदस्यहरूले धार्मिक पर्यटनको प्रवद्र्धनका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरमा वर्गीकरण गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताएका थिए । त्यस्तै उनीहरुले धार्मिक पर्यटकीय सर्किट निर्माण, तालिम प्राप्त टुर गाइडको व्यवस्था, तथा धार्मिक स्थलहरूको प्रवद्र्धन सहित दीर्घकालीन योजना आवश्यक रहेको समेत जोड दिएका थिए ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा समितीका सदस्य तथा प्रदेशसभा सदस्यहरु तुलसीराम शर्मा, भागवतीकुमारी थारु, प्रदेशसभाका उप–सचिव ईश्वरीप्रसाद आचार्य लगायतको बिशेष उपस्थिती रहेको थियो कार्यक्रममा समितिका सदस्य सचिव, सम्बन्धित कर्मचारी, संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।
नीति संवाद अन्तरक्रियामा दायित्व संस्थाका अनुसन्धानकर्ता फेलो उद्यान देवकोटाले लुम्बिनी प्रदेशमा धार्मिक पर्यटन प्रवद्धन सम्बन्धी प्रस्तुतिकरण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन संस्थाका संयोजक रक्षा सिलवालले गरेकी थिइन् भने दायित्व संस्थाका फिल्ड संयोजक कमलसिंह थारूले धन्यवाद ज्ञापन गरेका थिए ।