पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाण्डौ ५ माघ । निर्वाचन आयोगले पालिकामा जनप्रतिनिधि छान्न छुट्टाछुट्टै मतपत्रको प्रयोग गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने पालिका चुनावमा प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको जानकारी दिए ।
आज काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा उहाँले समावेशितालाई बाहिर राखेर कुनैपनि कानून बनाउन नसकिने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताए । उनले छिमेकी देश भारतमा समेत स्थानीय तहको चुनाव प्रदेशले गराउने गरेको भन्दै नेपालमा पनि यो व्यवस्था गर्न सकिने उल्लेख गरे । पालिकाको चुनाव प्रदेश सरकारले गराउने बारेमा आयोगलाई कुनै आपत्ति नरहेको तर त्यसका लागि अहिलेको कानून फेर्नुपर्ने उनको भनाइ छ । उनले प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न नहुनेमा पनि जोड दिएका छन् ।