सिसहनियाँ महोत्सव उद्घाटन, स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ : मन्त्री न्यौपाने



सिसहनियाँ महोत्सव उद्घाटन, स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ : मन्त्री न्यौपाने

सिसहनियाँ २५ पुस । दाङको राप्ती गाउँपालिका–५ कालापानी सिसहनियाँमा बिहिवार देखि दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ सुरू भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभुत अस्पतालको पुर्वी भागमा तामझामका साथ महोत्सव सुरु भएको हो ।

कृषि व्यापार साँस्कृतिक सम्पदा हाम्रो पहिचान, स्वच्छ सुन्दर र समृद्ध सिसहनियाँ हाम्रो अभियान भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गरेका हुन् । महोत्सव उद्घाटन गर्दै मन्त्री न्यौपाने मेला महोत्सवहरुले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

दाङ देउखुरीमा पर्यटन विकासको प्रसस्तै संभावना रहेकोले जिल्लामा रहेका राप्ती र बवई नदी तथा धार्मिक र पर्यटकीय स्थलहरुको विकासको माध्यमबाट पर्यटन विकास गर्न प्रदेशले विशेष योजना बनाउने बताए । देशमा विद्यमान आर्थिक तरलताका कारण उद्योग व्यवसायहरु संचालनमा जटिल स्थिति उत्पन्न भएको र व्यवसायीहरु दोहोरो तेहेरो करको मारमा परेको उनले बताए ।

सरकारले रुग्ण र बन्द भएका उद्योगहरुको पहिचान गरि तिनीहरुलाई स्थापित गर्न र उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम बनाउने र पर्यटन तथा औद्योगिक विकासलाई प्रवर्धन गर्दै मन्त्री न्यौपानेले विदेशीने युवाहरूलाई रोक्न तीन तहकै सरकारले तालिमको व्यवस्था गरि रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । मन्त्री न्यौपानेले यस क्षेत्रको कृषि, पर्यटन तथा संस्कृति संरक्षणमा महोत्सवले थप टेवा पुग्ने बताएका छन् ।

संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा दाङ जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमे खड्का, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बाल कृष्ण सुवेदी, राप्ती उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा उद्योगपति जगतप्रसाद पोख्रेल, राप्ती गाउँपालिका चेमबर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्वासे, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशव घिमिरे, सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका उपाध्यक्ष युवराज सेन ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको महोत्सव उद्घाटन कार्यक्रमको सञ्चालन संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गर्नु भएको थियो ।

महोत्सव सुरु हुनु अघि स्थानीय भेषभुषा झल्किने झाँकीहरु सहित विभिन्न संघ संस्था र बिद्यालयका बिद्यार्थीहरुको शोभायात्राले सिसहनियाँ बजार परिक्रमा गरेको थियो । यसै बीच महोत्सवमा माघ ३ देखि ५ गते राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट वा वडा नम्बर ५ करङ्गेकोटबाट प्याराग्लाइडिङ उडाएर महोत्सव स्थल सम्म ल्याण्डिङ गराउने गरी तयारी भएको संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले बताएका छन् ।

प्याराग्लाइडिङले दर्शकहरुलाई थप आकर्षित गर्ने र पर्यटकीय क्षेत्रको अवलोकन तथा मनोरञ्जनमा थप मद्दत पुग्ने अपेक्षा लगिएको छ । महोत्सवबाट २ करोड बराबरको कारोवार गर्ने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । १२ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ । महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।

महोत्सवमा १५० बढी स्टल रहेको छ र त्यस मध्ये १२ वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहेको छ । भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रू ८०, भिआइपी कार्ड बनाउन चाहेमा रू ५ सय तथा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको महाेत्सवका प्रेस संयाेजक सन्ताेषकुमार गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे