सिसहनियाँ महोत्सवको तयारी करिव ८० प्रतिशत पुरा : प्रचारप्रसारको काम तिब्र
सिसहनियाँ २१ पुस । दाङको राप्ती गाउँपालिका–५ कालापानी सिसहनियाँमा सञ्चालन हुन लागेको दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव २०८१ को तयारीले तिव्रता पाएको छ ।
सिसहनियाँ उद्योग वाणिज्य संघले राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभुत अस्पतालको पुर्व भागमा यहि २०८१ पुस २५ गते देखी माघ ७ गते सम्म हुने महोत्सवको स्टल निर्माण तथा प्रचारप्रसारको कामले तिव्रता पाएको छ । महोत्सव व्यवस्थापक हिरा हमालका अनुसार अहिले स्टल निमार्ण, बाल उद्यान, चर्खे पिङ बनाउने काम गरि ८० प्रतिशत काम पुरा भएको र २० प्रतिशत काम ३ दिन भित्रमा पुरा गर्ने गरि तयारी भएको बताए । त्यस्तै महोत्सवको प्रचारप्रचारको कामलाई पनि तिब्र पारिएको छ भने अतिथिहरुलाई पत्रचार गर्ने काम र बजारमा स्वागत गेट बनाउने काम सकिएको उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथाेकीले बताएका छन् ।
महोत्सवबाट २ करोड बराबरको कारोवार गर्ने र २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । १२ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्ने, थारू तथा मगर समुदायको खाना प्रदर्शनीमा राखिने बताइएको छ । महोत्सवमा हस्तकलाका प्रदर्शनी, कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल, खौराह ताल, भद्राक्षीदेवी मन्दिर अवलोकन लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
महोत्सवमा १५० बढी स्टल रहने र त्यस मध्ये १० वटा स्टल कृषि तथा हस्तकलाका स्टल रहने छ । भने स्थानीय व्यापारीलाई ५० प्रतिशत छुट दिने बताइएको छ । महोत्सव अवधीभर सर्वसाधारणका लागि टिकट दर रू १०० र विद्यार्थीको हकमा परिचयपत्रका आधारमा रू ८०, भिआइपी कार्ड बनाउन चाहेमा रू ५ सय तथा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिएका छन् ।