सर्वोदयका प्रधानाध्यापक गुप्ताको सक्रियता, सहयोग मागेरै विद्यार्थीलाई निशुल्क ट्रयाक सूट बितरण
देउखुरी १८ पुस । दाङ—देउखुरीको राप्ती गाउँपालिका—५, सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थी थमे पार्देलाई विद्यालयको न्यानो पोशक ट्रयाक सूट नहुँदा विद्यालय आउन जान समस्या थियो । यो जाडो मौसममा बिहानै स्कूल आउँदा पार्देलाई निकै सास्ती भोग्नुपर्ने बाध्यता थियो । घरको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय न्यानो पोशक ट्रयाक सूट किन्न समस्या थियो । जसले गर्दा उनी नियमित विद्यालय पनि आउन सक्ने अवस्था थिएन ।
यस्तै सोही विद्यालयको कक्षा ९ मा अध्यनरत विद्यार्थी महेन्द्रमाला बिष्ट र कक्षा ३ मा अध्ययनरत विद्यार्थी गिता सुनारको समस्या पनि पार्देको जस्तै थियो । अहिले पार्दे, बिष्ट र नेपालीले जस्तै १५ जना आर्थिक अवस्था कमजोर भएका लगनशिल, महेनती र अनुशासित विद्यार्थीहरुलाई जाडो मौसममा लगाईने न्यानो विद्यालय पोशाक ट्रयाक सूट निशुल्क पाएपछि ती विद्यार्थीहरु निकै हर्षित भएका छन् ।
विद्यालयमा केही दिन पहिले मात्र नयाँ प्रधानाध्यापकका रुपमा बिनोदकुमार गुप्ता आएपछि उनले आफ्नो विद्यार्थीहरुका लागि दाता खोजेरै निशुल्क रुपमा न्यानो कपडा स्वरुप ट्रयाक्स सुट बितरण कार्य अगाडी बढाएका छन् । प्रधानाध्यापक गुप्ता आएको छोटो समय मै विद्यालयको शैक्षिक सुधारका काम देखि दाताहरु संग सहयोग मागेरै आफ्ना विद्यार्थीहरुको लागि जाडो मौसममा लगाईने स्कुल पोशाक ट्रयाक्स सुट निशुल्क बितरण कार्य अगाडी बढाएपछि बिद्यार्थीहरु निकै हर्षित हुनुका साथै उत्साहित समेत भएका छन् ।
विद्यार्थीहरुले निशुल्क रुपमा न्यानो स्कूल पोशाक स्वरुप ट्रयाक सूट पाएपछि पढाईमा उर्जा थपिएको बताएका छन् । उनीहरुले न्यानो कपडा स्वरुप विद्यालयको पोशाक अन्तर्गत ट्रयाक सूट पाएपछि खुसी व्यक्त गरेका छन् । आर्थिक समस्याका कारण ट्रयाक सूट किन्न नसक्दा जाडो मौसममा विद्यालय जान आउन निकै समस्या हुँदा पढाई समेत प्रभावित हुने गरेकोमा अब ट्रयाक सूट पाएपछि पठनपाठनमा सहज हुने बताउँदै उनीहरुले प्रधानाध्यापकले आफूहरुको समस्याप्रति गम्भीर भएर सहयोग जुटाईदिएको भन्दै प्रधानाध्यापक गुप्ता र दातालाई धन्यबाद ज्ञापन समेत गरेका छन् ।
राप्ती गाउँपालिका कै उत्कृष्ट विद्यालय बनाउने अभिप्रयायका साथ प्रधानाध्यापक गुप्ताले पछिल्लो समय शैक्षिक गुणस्तर बृद्धिका लागि आफ्नो सक्रियता बढाएका छन् । विद्यालय व्यवस्थापन समितीको सोच तथा अभिप्रायलाई आत्मासाथ गर्दै आफूले शैंक्षिक गुणस्तर बृद्धिका लागि पठनपाठन देखि विद्यालयको वातावरण विद्यार्थीमैत्री बनाउन लागेको छु, प्रधानाध्यापक गुप्ताले भने ।
विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यार्थीहरुमा अनुशासन कायम गर्न तथा विद्यालयमा अध्ययनरत तथा आर्थिक रुपमा कमजोर भएका लगनशिल, अनुशासित एवम् महेन्ती विद्यार्थीहरुलाई दाताहरु संग सहयोग मागेर विद्यालयको ड्रेसको रुपमा निशुल्क ट्रयाक सूट बितरण कार्य अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक गुप्ताले बताए । जाडो मौसममा स्कुल आउँदा जाँदा न्यानो कपडा नभएकै कारण नियमित स्कूल आउन नसक्ने विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न सहयोगी निकाय तथा व्यक्तिहरु संगको सहकार्यमा न्यानो पोसक ट्रयाक सूट तथा शैक्षिक सामाग्री बितरण कार्य अगाडी बढाइएको प्रधानाध्यापक गुप्ताले बताए ।
प्रधानाध्यापक गुप्ता कै पहलमा यस अघि क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले विद्यालयमा अध्ययनरत १५ जना विपन्न विद्यार्थीहरुलाई यस अघि नै न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको छ । यस्तै राप्ती गाउँपालिका—४, मौरीघाट श्रीनारायण चोकमा रहेको योगी ग्रामेटका सञ्चालक अनिलनाथ योगीले पनि उक्त विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर भएका लगनशिल, अनुशासित तथा महेन्ती १५ जना विद्यार्थीहरुलाई निशुल्क रुपमा न्यानो ट्रयाक सूट बितरण गरेका छन् । आर्थिक रुपमा कमजोर भएका विद्यार्थीहरुलाई पठनपाठनमा सहज बनाउन र विद्यालयमा अरु विद्यार्थीले जस्तै लगाउने ड्रेसमा एक रुपता कायम गर्न आफूले निशुल्क न्यानो स्कूल पोसक अर्थात ट्रयाक सूट वितरण गरेको गार्मेटका सञ्चालक योगीले बताए ।
विद्यालयले यही पुस १७ गते बुधबारका दिन विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ती १५ जना विद्यार्थीहरुलाई निशुल्क ट्रयाक सूट वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको कक्षा ३ देखि १२ सम्म अध्ययनरत आर्थिक अवस्था कमजोर भएका लगनशिल, महेनती र अनुशासित १५ जना विद्यार्थीहरुलाई न्यानो पोशाक अर्न्तगत ट्रयाक सूट वितरण गरिएको छ ।
यसरी ट्रयाक सूट पाउनेहरुमा कक्षा २ का संगीता सुनार, कक्षा ३ का गिता सुनार, सन्देश खत्री, युजन चौधरी, निसा नेपाली, कक्षा ५ का पंकी चौधरी, कक्षाका ६ आकाश चौधरी, कक्षा ८ का प्रमेश्ररी चौधरी, प्रदिप चौधरी, कक्षा ९ का गोबिन्द भण्डारी, बिपासा सोनाह, महेन्द्रमाला बिष्ट, कक्षा १० का सुदन बोटे र कक्षा १२ का थमे पार्दे रहेका छन् । उनीहरुलाई एक—एक जोर ट्रयाक सूट प्रदान गरिएको छ । उनीहरुलाई गार्मेटका सञ्चालक योगीले करिब २० हजार बराबरको विद्यालय न्यानो पोशाक अन्तर्गत ट्रयाक सूट बितरण गरेका हुन् ।
सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चौधरीले शैक्षिक गुणस्तर विद्यार्थीका लागि सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताए । उनले शैक्षिक गुणस्तर कायम अन्तर्गत विद्यालय पोशाक पनि अनिवार्य पर्दछ । त्यसलाई एक रुपता कायम गर्न विद्यालयका प्रधानाध्यापक गुप्ताको सक्रियतालाई प्रशंसा गर्दै आफ्ना विद्यार्थीहरुका लागि निशुल्क ट्रयाक सूट उपलब्ध गराउने योगी ग्रामेटका सञ्चालक अनिलनाथ योगीलाई धन्यबाद ज्ञापन समेत गरे । उनले दान दिने मान्छे जहिले पनि माथि रहने भएको भन्दै सहयोगी हात अघि बढाईरहन आग्रह समेत गरे । पोशाक बितरण कार्यक्रमको सहर्जीकरण विद्यालयका शिक्षक रामकृष्ण पौडेलले गरेका थिए ।
वि.सं. २०१६ सालमा स्थापना भएको सर्वोदयमा माविमा अहिले शिशु कक्षा देखि १२ कक्षा सम्म पढाई भइरहेको छ । हाल विद्यालयमा शिशु कक्षा देखि १२ सम्म कुल ८ सय ६० विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ । जस अन्तर्गत शिशु देखि कक्षा ५ सम्म २ सय ८ जना, निमावि तर्फ कक्षा ६ देखि ८ कक्षा सम्म २ सय १९ जना, मावि तर्फ साधरण कक्षा ९ देखि १० सम्म २ सय २० जना र मावि तर्फ कक्षा ११ र १२ मा १ सय ५४ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ । यस्तै कृषि प्राबिधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म ५९ जना र अग्रेजी माध्यम तर्फ कक्षा ४ देखि १० सम्म १ सय ६५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।