राप्तीमा दुई करोड बढीको लागतमा सुविधा सम्पन्न निलसागर सेवा आश्रमकाे भवन बन्यो



राप्तीमा दुई करोड बढीको लागतमा सुविधा सम्पन्न निलसागर सेवा आश्रमकाे भवन बन्यो

भालुवाङ १८ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडामा निलसागर सेवा आश्रमको सुविधा सम्पन्न भवन निमार्ण भएको छ ।

सो भवन निर्माणका लागि संघ, प्रदेश र पालिकाको गरि कुल २ करोड २८ लाख ६१ हजारको लागतमा आश्रमको ढाई तल्लाको पक्की भवन निर्माण सम्पन्न भएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले जानकारी दिएका छन् । १ सय जना अट्ने क्षमता रहेको सुविधा सम्पन्न भवन निर्माण भएको हो । पहिलो चरणमा न्यू अम्बे निर्माण सेवा प्रालि घोराही र दोस्रो चरणमा नकुल इन्जिनियरिङ कन्सलटेन्सी एण्ड कन्ट्रक्सन प्रालि घोराही दाङले भवन निर्माण कार्य सम्पन्न गरेका हुन् ।हाल उक्त आश्रममा करिब २५ जना सडक मानबहरू आश्रित रहेको आश्रम कार्यबाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिएका छन् । वि.सं. २०७६ पुसमा दाङ निलसागर सेवा आश्रमको दाङ शाखा स्थापना भएको थियो । स्थापना देखि ५ बर्ष सम्म राप्ती गाउँपालिका–८, पिपरी निवासी इन्द्रबहादुर कार्कीले निशुल्क रूपमा आफ्नो घर उपलब्ध गराएका थिए । अहिले आफ्नै सुविधा सम्पन्न भवनमा आश्रय लिन पाएपछि त्यहाँ बस्ने सडक मावनहरू हर्षित भएका छन् ।

यसै बीच नवनिर्मित भवनको बिहिवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका छन् । भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए । अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्याएको उल्लेख गर्दै उनले यसखाले समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताए । ‘अमानवीय वर व्यवहारले मानिसलाई सडकमा पु¥याएको छ । यसखाले समस्या समाधानकालागि मानिसमा चेतना बढाउन जरुरी छ’उनले भने,‘आफ्नै सन्तानलाई सडकमा छाडेका घटना पनि छन् ।

मानिसले यस्तो कसरी गर्न सक्छ ? कारण खोजेर चेतना अभिवृद्धिको लागि ध्यान दिन जरुरी छ ।’ संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको मुख्यमन्त्री आचार्यले बताए । ‘संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी तीन तहकै सरकारको हो । हामिले त्यो जिम्मेवारी निर्वाह गर्छौं’मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ ।’

सरकार सबैको हो भन्ने महशुस गराउनेगरी काम भइरहेको, मानव कल्याणको लागि निलसागर आश्रमले गरेको कामको उदाहरणीय भएको चर्चा गर्दै उनले आश्रममा स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । आश्रमको नाममा बाँकेमा जग्गा प्राप्ती भएको खण्डमा भवन निर्माणकोलागि प्रदेश सरकारले साझेदारी गर्ने समेत विश्वास दिलाए । घर परिवारमा मनाउने उत्सवहरु समेत आश्रममा पुगेर मनाउन मुख्यमन्त्री आाचर्यले आह्वान समेत गरे ।

राप्ती गाउँपालिकाले भवन उद्घाटन कार्यक्रम आयोजना गरेको थियो । पालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भवन उद्घाटन कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी तीन तहकै सरकारको भएको बताए । उनले कानूनी जटिलता फुकाउँदै मानव कल्याणका कामहरुलाई अघि बढाउन जरुरी रहेकोमा जोड दिए । यस्तै सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संविधानले सुनिश्चित गरेका अधिकारलाई जनताले महशुस गर्नेगरी कार्यान्वयन प्रदेश सरकारले गरिरहेको बताए ।

प्रदेशसभा सदस्य इन्द्रजीत थारुले सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूती दिलाउने जिम्मेवारी राज्यको भएको बताए । निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले मानव सेवाकालागि राज्य तहबाट सहयोग र सहकार्य हुँदा अभियानले थप व्यापकता पाउने बताइन् । राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका शिक्षा अधिकृत बासुदेव खनालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे