नामसालिङद्वारा राप्तीको १ र २ वडामा सञ्चालित परियोजनाको स्थलगत अनुगमन
भालुवाङ १६ पुस । दाङको राप्ती गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भइरहेका विकास परियोजनाहरूको स्थलगत अनुगमन गरिएको छ।
गाउँपालिकाको साझेदारीमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा सञ्चालन भएका सिँचाइ, कृषि, पशुपालन, बाढी नियन्त्रण लगायतका योजनाहरूको अवस्था बुझ्न अनुगमन गरिएको हो। वडा नम्बर १ खर्कमा बाढी नियन्त्रण योजना, सोलार पम्प खानेपानी योजना, टनेल खेती, पशुपालन गोठ सुधार, घर बगैँचा, सुधारिएको चुलो र बायोग्यास चुलोको अनुगमन गरिएको थियो।
त्यस्तै अनुगमन टाेलीले वडा नम्बर २ सिख्रेमा सोलार सिँचाइ विस्तार योजना, सुधारिएको चुलो, पशु गोठ सुधार, घर बगैँचा र तरकारी खेती परियोजनाहरूको अनुगमन गरेको हाे । अनुगमन टोलीमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरी, प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष पहलमान चौधरी, वडा नम्बर १ का अध्यक्ष गेम बहादुर खड्का, कार्यपालिका सदस्यहरू चम्फा भुषाल र रण बहादुर पुजाली, आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, योजना शाखाकी विमला भट्टराई, खानेपानी तथा सरसफाई शाखा प्रमुख गीता चौधरी, नामसालिङ सामुदायिक विकास केन्द्र दाङका कार्यक्रम संयोजक शशाङ्क आचार्य र सामाजिक परिचालिका पुस्तमा पुनको सहभागिता रहेको थियो।