नेपाल पत्रकार महासंघ दाङको मतदान सम्पन्न : कुल १३७ मत खस्यो
दाङ २८ मंसिर । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा उत्साहजनक मत खसेको छ । दाङ सहित देशभरका महासंघको नेतृत्व चुन्न एकसाथ प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत् निर्वाचन भएको हो ।
जिल्ला, प्रदेश, केन्द्रीय र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो । महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा छन् । यस्तो प्यानल केन्द्र देखि प्रदेश, जिल्ला हुँदै शाखाहरु सम्म बनेको छ ।
यसै बीच नेपाल पत्रकार महासंघ दाङमा प्रदेश र केन्द्रको मतदान सम्पन्न भएको छ । विहान १० बजे देखि बेलुका ४ बजे सम्म भएको निर्वाचनमा कुल १ सय ३७ मत खसेको मुख्य निर्वाचन अधिकृत सुदिप गाैतमले जानकारी दिएका छन् । कुल १ सय ५४ मतदाता रहेको महासंघको निर्वाचनमा ९३ दशमलव ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिएका छन् ।
दाङमा यस अघि मनोनयन दर्ताका क्रममा सर्वसम्मत नयाँ नेतृत्व चयन भएपछि जिल्लाको चुनाव गर्न नपरेको हो । दाङमा सन्तोष सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व आएको दाङबाट पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।