दाङका अशोक बेल्वासेले नगद २५ हजार सहित इनोभेटिभ नेशनल युथ अवार्ड हात पारे



दाङका अशोक बेल्वासेले नगद २५ हजार सहित इनोभेटिभ नेशनल युथ अवार्ड हात पारे

भालुवाङ २६ मंसिर । बास नेपालले दाङका अशोक बेल्बासेलाई इनोेभेटिभ नेशनल युथ अवार्ड २०२४ प्रदान गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी बेल्वासेले सो अवार्ड हात पारेका हुन् । लामो समय देखि स्वयंसेवकको रुपमा कार्यरत बेल्बासेलाई २५ हजार नगद सहित सम्मान गरिएको छ । अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बास नेपालले आह्वान गरेको युथ अवार्डको आबेदनमा बिभिन्न जिल्लाका १२ जनाले आवेदन दिएका थिए । आवेदन दिएका स्वयंसेवकहरु मध्येबाट ७ जना अन्तिम प्रतिष्पर्धामा थिए । जस मध्ये ईसेवाका माध्यमबाट भएको मतदानमा सर्बाेत्कृष्ठ मत प्राप्त गर्ने बेल्वासेलाई सो अवार्ड प्रदान गरिएको हो ।

अन्तिम प्रतिष्पर्धी दैलेखका राजेन्द्र अधिकारी, सुर्खेतका रचना सुनार, मालती बिक, सुजिता रोकाय, तनहुँका मोहम्मद गफ्फार र नवलपरासी पश्चिमका समिर परियारलाई सम्मान पत्र प्रदान गरिएको थियो । बुवा महेश बेलबासे र आमा शान्ता बेल्बासेको कोखबाट विक्रम सम्वत २०५० वैशाख १ गते भूमिका स्थान नगरपालिका वडा नम्बर १ फुलबारीमा जन्मिएका बेल्वासे ३ भाई मध्येका जेठा छोरा हुन् । बाल्यकालको बसाई अर्घाखाँचीमा रह्यो। र उनले कक्षा ७ सम्मको अध्ययन पनि श्रीचौर आधारभूत विद्यालय फुलबारी र श्री विश्व माध्यमिक विद्यालय पिपल नेता अर्घाखाँचीबाट गरेका हुन् ।

समाजशास्त्रबाट उच्च शिक्षा हासिल गरेका बेल्वासे ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाबाट शिक्षा संकायबाट ब्याचलर गरेका छन् । उनी सोही क्याम्पसमा २०७३ सालमा संस्थापक स्ववियु सभापति समेत भएर काम गरे । सानै उमेरबाट सामाजिक सेवामा रुचि राख्ने उनले व्यावसायिक रूपमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा मोबाइल पसल गर्दै आएका छन् । कहिले सरसफाई सम्बन्धी कार्यक्रम कहिले महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम, कहिले लागूऔषध दुर्वेसनी सम्बन्धी सचेतना कार्यक्रम, कहिले ट्राफिक नियम सम्बन्धी कार्यक्रम, कहिले रक्तदान सम्बन्धी कार्यक्रमको अगुवाई गर्दै आएका छन् ।

समाजमा हुने अन्यायका विरुद्ध न्यायका निम्ति आफ्नो आवाज बुलन्द गर्दै प्राकृतिक बाढी पहिरो दुर्घटना भएको ठाउँमा उद्धार तथा राहतको निम्ति सधैंभरि अग्रपंक्तिमा उनी रहन्छन् । सडकमा हुने बेसहारा सडक मानवहरूलाई उद्धार गरी मानव सेवा आश्रमसम्म पुर्‍याउने गर्छन् । यहाँसम्म आउँदै गर्दा विभिन्न समयमा विभिन्न संस्थामा आबद्ध हुँदै काम गर्दै आएका छन् । केही समय देखि सामाजिक संस्था आशाका किरण संस्थाको अध्यक्ष भई नेतृत्व गर्दै सामाजिक काममा सक्रिय छन् । बाल्यकाल देखि नै सामाजिक कार्यमा रुचि राख्ने र यसैबाट यो समाजलाई चिनाउँछु भन्दै अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे