दाङकाे राप्तीमा आलाेपालाे महाेत्सव लगाउने सिसहनियाँ र राप्ती उबासंघ बीच सहमति



दाङकाे राप्तीमा आलाेपालाे महाेत्सव लगाउने सिसहनियाँ र राप्ती उबासंघ बीच सहमति

देउखुरी २४ मंसिर । दाङ-देउखुरीको राप्ती गाउँपालिका भित्र महोत्सव लगाउने बिषयमा दुई उद्योग बाणिज्य संघ बीच सहमति भएको छ । आज सोमबार राप्ती उद्योग बाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग बाणिज्य संघ बीच सिसहनियाँ भएको छलफलपछि आलोपालो महोत्सव लगाउने गरी सहमति भएको हो । यो सहमति संगै महोत्सव लगाउने बिषयमा दुई उद्योग बाणिज्य संघ बीच देखिएको बिबाद समेत मिलेको छ ।

राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का र सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूणर्बहादुर बुढाथोकी बीच भएको लिखित सहमति अनुसार यस बर्षको महोत्सव सिसहनियाँले गर्न पाउने गरी सहमति जुटेको राप्ती उवासंघका महासचिव बासुदेब न्यौपानेले जानकारी दिए ।

दुबै उद्योग बाणिज्य संघले गरेको लिखित सहमति अनुसार व्यापारिक, कृषि तथा पर्यटन महोत्सव संञ्चालन गर्ने विषयमा २०८१ सालमा संञ्चालन हुने महोत्सवको आयोजना सिसहनियां उद्योग वाणिज्य संघले गर्ने, २०८२ सालमा संञ्चालन गर्ने महोत्सवको आयोजना राप्ती उद्योग वाणिज्य संघले गर्ने र सहमति अनुसार दुई वटा उद्योग बाणिज्य संघले क्रमस एक/एक वर्ष आलोपालोमा महोत्सव संञ्चालन गर्ने लिखित सहमति भएको महासचिव न्यौपानेले बताए ।

यस्तै आफ्नो समयमा महोत्सव संञ्चालन गर्न नसक्ने अवस्था रहेमा अर्को उद्योग वाणिज्य सघलाई संञ्चालन गर्न दिने र त्यसका लागि एक महिना अगाडी नै सुचना प्रदान गर्नुको साथै आवश्यक सहयोग गर्ने र हामी दुवै उद्योग वाणिज्य संघ माथि उल्लेखित सहमति अक्षरस पालना गर्न तयार भई सहमति पत्रमा हस्ताक्षर गरियो भनी लिखित सहमति गरेको महासचिव न्यौपानेले बताए । यो सहमति अनुसार आउँदो २०८२ सालको महोत्सव राप्ती उवासंघले आयोजना गर्ने भएको छ ।

यस अघि राप्ती उद्योग बाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग बाणिज्य संघले तीन दिनको अन्तरमा दुई वटै महोत्सव लगाउने तयारी गरेपछि बिबाद बढेको थियो । सिसहनियाँ उवासंघले पुसको २६ गतेदेखि सिसहनियाँमा र राप्ती उवासंघ भालुवाङले पुसको २९ गते देखि लालमटियामा महोत्सव लगाउने गरी तयारी गरेपछि बिबाद बढेको थियो । दुबै उद्योग बाणिज्य संघले आ-आफ्नो मितिमा महोत्सव लगाउने गरी सिफारिस लिन राप्ती गाउँपालिका कार्यालय पुगेपछि बिबाद चुलिएको थियो ।

सिसहनियाँ उवासंघले पुस २६ गते देखि लगाउने महोत्सवका लागि राप्ती गाउँपालिकामा राजश्व बुझाएर सिफारिस समेत लिई सकेको थियो, तर जिल्ला प्रशासन कार्यालय दाङले कार्यपालिकाको निणर्य मागेपछि पालिकाले दुई वटा महोत्सवलाई तीन दिनको फरकमा अनुमति दिन नसक्ने बरू महोत्सवको मिति नजुढाएर कम्तीमा १५-१५ दिनको फरकमा महोत्सव लगाउने मिति लिएर आउन आग्रह गरेको थियो । दुबै उद्योग बाणिज्य संघले मिति सार्न नसक्ने र एकै समय महोत्सव सञ्चालन गर्ने अडान नछोडेपछि बिबाद बढेको थियो । करिब एक महिनापछि दुबै उद्योग बाणिज्य संघ आलोपालो महोत्सव लगाउने सहमति गरेपछि बिबाद सकिएको हो ।

छलफलमा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्का, महासचिव बासुदेव न्यौपाने, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूणर्बहादुर बुढाथोकी, पूर्व अध्यक्ष शान्तराज भण्डारी, कोषाध्यक्ष भिमबहादुर चौधरी र पत्रकार सन्तोषकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

याे हेर्नुस् सहमति-पत्र…

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे