ऐरावती क्याम्पसका संस्थापक रश्मीराज नेपालीकाे धर्मपत्नीको निधनमा शोकसभा सम्पन्न
देउखुरी १३ मङ्सिर । दाङ-देउखुरीकाे ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाका संस्थापक एवं सल्लाहकार रश्मीराज नेपालीकी धर्मपत्नी दमयन्तादेवी अधिकारीको निधनमा शोकसभा सम्पन्न भएको छ। क्याम्पसका संस्थापक,सल्लाहकार एवं दिवङ्गत अधिकारीका पति रश्मिराज नेपालीको अध्यक्षता एवं क्याम्पस सञ्चालक समिति अध्यक्ष केशवराज खनालको प्रमुख आतिथ्यतामा शोकसभा सम्पन्न भएको हाे । साे अवसरमा बोल्ने वक्ताहरूले अधिकारीले सामाजिक, राजनैतिक र पारिवारिक जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न खेलेको भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बक्ताहरुले अधिकारीको निधनले परिवार र समाजले एक कुशल अभिभावक गुमाएर भएको अपुरणीय क्षतिको चर्चा गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए। शोकसभामा पति रश्मिराज नेपाली र उनका जेष्ठ सुपुत्र विप्लव अधिकारीले ऐरावती क्याम्पस परिवार र उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए । गढवा गाउँपालिका-१, बडहरा स्थित निवासमा सम्पन्न सभामा क्याम्पस सञ्चालक समिति अध्यक्ष केशवराज खनाल संस्थापक, पूर्व अध्यक्ष खिमानन्द भुसाल, सल्लाहकार द्रोण भुसाल र स्ववियु सभापति विष्णा भण्डारी सङ्गीता लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले गरेका थिए । अधिकारीको यही मंसिर ८ गते शनिबारका दिन ७५ बर्षकाे उमेरमा निधन भएकाे थियाे ।