दाङ देउखुरी, भरतपुर र काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब स्तरमा



दाङ देउखुरी, भरतपुर र काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब स्तरमा

काठमाडौं १५ कार्तिक । काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण ह्वात्तै बढेको छ । आज बिहान सवा आठ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुर, भरतपुर र दाङको देउखुरीको वायु खराबस्तरमा पुगेको छ ।

सबैभन्दा बढी वायु प्रदूषण दाङ देउखुरीमा छ । बिहान सवा आठ बजेको समयमा त्यहाँको वायु गुणस्तर सूचक (एक्यूआई) १७७ पुगेको छ । यही समयमा बुधबार १२० एक्यूआई थियो । त्यसपछि भक्तपुरमा बुधबार ९२ एक्यूआई रहेकामा बिहीबार १६० र ललिपुरको खुमलटार क्षेत्रमा बुधबार १०४ एक्यूआई रहेकोमा बिहीबार १३४ पुगेको छ । चितवनको भरतपुरमा पनि आज वायुप्रदूषण छ । त्यहाँको एक्युआई १५६ छ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ । काठमाडौंका हाँडिगाउँ, महाराजगञ्जस्थित अमेरिकी दूतावास लगायत क्षेत्रमा पनि वायु प्रदूषण खराब स्तरमा पुगेको छ ।

यी सबै स्थानको वायु खराबस्तरमा पुगेको जनाउ दिन रातो रङ्गले संकेत गरेको छ । यसको अर्थ बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरुलाई जोखिम हुन्छ भन्नु हो । वायुप्रदूषणले फोक्सो, मुटुमा समेत असर पर्ने र मानिसको ज्यानै जान सक्ने भएकाले मास्कविना हिँडडुल गर्न नहुने जानकारहरु बताउँछन् । यस्तो बेलामा मोर्निङ वाक लगायतका काम नगर्ने, अतिआवश्यक नभई घर बाहिर ननिस्कने, घरबाहिर निस्किनै पर्ने भए सर्जिकल मास्क, चस्मा र पूरै शरीर ढाक्ने कपडा लगाउने तथा धुवाँधुलो हुने गतिविधि गर्न नहुने जनस्वास्थ्यविद कमल रानाभाट बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे