मेची- महाकाली उद्धार यात्रालाई मुख्यमन्त्री आचार्यको स्वागत



मेची- महाकाली उद्धार यात्रालाई मुख्यमन्त्री आचार्यको स्वागत

दाङ ११ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी बर्ष सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताएका छन् ।

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्वोधन गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले आगामी बर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानव मुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताएका हुन् । मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार स्वागत गर्दै मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसावले बाच्न पाउने वातावरण सुनिश्चित गरिने बताएका हुन् । ‘यहाँहरुले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ ।

मानव भएर मानवको हिवासले बाच्न पाउनुपर्छ’ उनले भने,‘प्रदेश सरकार साझेदारी रुपमा यो अभियानमा जोडिन चाहन्छ । हामी आउने बर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहनेगरी सडक आश्रित मानव मुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौं ।’ लुम्बिनी प्रदेश भित्र रहेका मानव सेवा आश्रमको विवरण र त्यहाँ आश्रितहरुको विवरण संकलन गरिने समेत जानकारी दिए ।

असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछी २७ गते झापाको मेची पुलबाट सुरु भएको उद्धारटोली १३ औं दिनमा लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आईपुगेको हो । अभियानको क्रममा एक सय २८ सडक आश्रित मानवको उद्धार गरिएको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुबाट हाल सम्म २८ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् ।

मेचीमहाकाली यात्रामा रहेको उद्धार टोलीमा सहभागिहरुलाई मुख्यमन्त्री आचार्यले स्वागत सम्मान गरेका छन् । आचार्यले टोलीमा सहभागी आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायक आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई मायाँको चिनो प्रदान गरेका थिए । स्वागत कार्यक्रममा प्रमुख सचिव महादेव पन्थ, सचिवहरु कृष्ण पौडेल, ईश्वरराज पौडेलको समेत सहभागिता थियो ।
सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ ।

यात्रामा ५० जना यात्री अर्थात् उद्धारकर्मीहरु रहेका छन् । मानवसेवा आश्रमको ७ वटा प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालनमा छन् । पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७ सय ५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३ सय ४ जनाको उद्धार भएको थियो ।
यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । मानव सेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ साल भित्र नेपाललाई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश निर्माण गर्ने सङकल्प गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे