दाङ उद्योग बाणिज्य संघको १६ औँ अबिधेशनको तालिका सार्वजनिक



दाङ उद्योग बाणिज्य संघको १६ औँ अबिधेशनको तालिका सार्वजनिक

दाङ ९ पुष । दाङ जिल्ला उद्योग वाणिज्य संघको १६ औं अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । आगामी कार्यकालको नेतृत्वका लागी यही पुस १८ गतेबाट शुरु हुने साधारणसभाले २० गते हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।उद्योग वाणिज्य संघको बुधवार बसेको बैठकले अबिधेशनको निर्वाचनका लागी प्रमुख निर्वाचन अधिकृतका रुपमा शिव प्रसाद घिमिरेलाई जिम्मेवारी दिएको छ ।

सोहि अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन अधिकृत घिमिरेले आफुले पाएको जिम्मेवारी निष्पक्ष, पारदर्शी र मर्यादित ढंगले पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन सम्पन्न गराउने अभिभारा पूरा गर्न आफुले सुरक्षा निकाय, संचारमाध्यम, अधिकारकर्मी, राजनीतिक दल, आम उद्योगी व्यसायीहरुको सकारात्मक सहयोगको अपेक्षा पनि राखेको बताएका छन् । उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतमा बसेको बैठकमा संघका महासचिव नरेश कार्की, उद्योग उपाध्यक्ष बसन्त जोशी, निर्वाचन अधिकृत शिवप्रसाल घिमिरे, मणिराज आचार्य लगायतको सहभागिता रहेको थियो ।

निर्वाचन तालिका सार्वजनिक

उद्योग बाणिज्य संघको निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार पुस १० गते मतदाता नामावली सार्वजनिक गरिने भएको छ । त्यस्तैगरी ११ गते नामावली उपर दावी विरोध, सोही दिन दिउँसो ४ बजेसम्म मतदाता नामावली उपरदावी विरोध छानबीन, संशोधन, पुस १२ गते बिहान ९ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

यस्तै, सोही दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता, पुस १३ गते बिहान ८.३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन, सोही दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार उपरदावी विरोध, सोही दिन उम्मेदवार उपर छानबीन, तत्पश्चात उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । यस्तै, पुस १४ गते उम्मेदवारी फिर्ताको कार्य तालिकाको समय राखिएको छ भने त्यसपछि पुस १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको प्रमुख निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
त्यसपछि पुस २० गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने भएको छ ।

निर्वाचन उद्योग वाणिज्य संघमा गर्ने बताइएको छ । कुल ४ हजार ३ सय सदस्य रहेको संघको निर्वाचनमा भाग लिने सदस्यहरुले उद्योग वाणिज्य संघबाट जारी गरिएको परिचय पत्र वा सदस्यताको सक्कल प्रमाण पत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको उनले बताए ।

पुस १८ गते बार्षिक साधारणसभा

२०२७ सालमा स्थापित दाङ जिल्ला उद्योग वाणिज्य संघले पुस १८ गते ५० वर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती पनि मनाउने भएको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले स्वर्णजयन्ती मनाउन लागिएको बारे जानकारी गराएका छन् । उनले सो अवसरमा स्मारिका प्रकाशन, विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्न लागिएको बताए ।यसैबीच, उनले सकेसम्म आगामी कार्यकालका लागि सहमतिको प्रयास भईरहेको बताउँदै हाम्रालाई भन्दा राम्रालाई नेतृत्व दिने गरी गृहकार्य थालिएको बताए । यदि सहमतिको प्रयास असम्भव भएको अवस्थामा निर्वाचनमा जाने बताए ।

उक्त निर्वाचनको सबैको साथ सहयोग रहेमा आफु पनि अध्यक्ष पदको दोहोरिन सक्ने बताएका छन् । उनले भने ’’साथीहरुको आकांक्षालाई बुझ्दा म फेरि नेतृत्वमा आउनु पर्छ भन्ने रह्यो भने म तयार छु ।’’ आफ्नो कार्यकालमा भएका काम र गर्नु पर्ने दायित्वका विषयमा समेत जानकारी गराउँदै उनले कोरोना महामारीका बीच पनि सबैको साथका कारण धेरै काम भएको बताए ।हालसम्म १५ सदस्यीय रहेको संघको अबको कार्यसमिति २१ सदस्यीय हुने भएको छ ।अधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरुको चुनावी रौनक छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे