भालुवाङमा बलात्कृत बालिकाकाे न्यायको माग गर्दै प्ले कार्ड सहित प्रदर्शन 



भालुवाङमा बलात्कृत बालिकाकाे न्यायको माग गर्दै प्ले कार्ड सहित प्रदर्शन 
भालुवाङ ७ कार्तिक । दाङको भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै स्थानीय संघर्ष समितीले आज बुधबार राप्ती गाउँपालिका-१, भालुवाङमा रहेको इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी क्याम्प घेराउ गर्नुका साथै प्ले कार्ड सहित प्रदर्शन गरेकाे छ ।
संघर्ष समितिका अध्यक्ष सुरज खड्काको नेतृत्वमा संघर्ष समिति, भृकुटी महिला विकास र स्थानीयहरूले मध्याह्न १२ बजे देखि ३ बजे सम्म भालुवाङ पुल्चोक बजार, भालुवाङ पुरानो बजार भालुवाङ, ईलाका प्रहरी कार्यालय घेराउ र सशस्त्र प्रहरी बल २९ नम्बर गण हेडक्वाटर ज्वालामाईको गेट अगाडि चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । बलात्कारीलाई सार्वजनिक गर, अपराधी लुकाउन पाइदैन, सत्यतथ्य बाहिर ले, न्याय मार्न पाइदैन र बलत्कारीलाई फाँसी दे लगायत नारा लगाएका थिए । आक्रोशित आन्दोलनरत पक्षले  दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।  स्थानीय र पीडित पक्षले घटना ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै दाेषीलाई यथाशिघ्र पक्राउ गरी सार्वजनिक नगरिए आन्दोलनको आँधीबेरि ल्याउने चेतावनी दिएका छन् ।
कोणसभालाई संघर्ष समितिका संयोजक सुरज खड्का, उप-संयोजक प्रकाश शाही, राप्ती उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाली न्याैपाने, व्यापारीको तर्फबाट तुला गिरी र महिलाको तर्फबाट लक्ष्मी गिरी लगायतका वक्ताहरूले बाेलेका थिए ।  सशस्त्र प्रहरी क्याम्प नजिक बनाइएको पीङ खेल्न गएकी आठ वर्षीया बालिका बलात्कारमा परेको घटना सार्वजनिक भएपछि ईलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिका सँगै रहेकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि भन्दै १४ दिनदेखि प्रहरीले आफ्नाे नियन्त्रणमा लिएकाे छ । दुबै बालिकासँग घटनाको बारेमा जानकारी लिने र शंकास्पद व्यक्तिहरुसँग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ । ‘पीडित बालिका प्रहरीको संरक्षणमा छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीको टिमले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ ।  प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दा सम्म संघर्ष जारी राख्ने चेतावनी दिइएको छ । त्यस्तै कार्तिक ८ गते मध्याह्न १२ बजे देखि ४ बजे सम्म पूर्व-पश्चिम राजमार्ग बन्द गर्ने र बेलुका ६ बजे देखि राँके जुलुस निकाल्ने निर्णय भएको संघर्ष समितिका संयोजक सुरज खड्काले जानकारी दिए । गत असोज २४ गते दिनदहाडै भालुवाङ स्थित सशस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा डेरा गरी बस्ने ८ वर्षिय बालिका बलात्कृत भएकी थिइन् ।
यसैबीच दाङकाे राप्ती गाउँपालिकाले समेत आज एक प्रेस विज्ञप्ती जारी गरी बालिका बलत्कारकाे घटना तत्काल छानबिन गरी दाेषी उपर कडा कार्वाहीकाे माग गरेकाे छ । पालिका अध्यक्ष प्रकाश बिष्टले विज्ञप्ती जारी गर्दै तत्काल अनुुन्धान गरी दाेषी सार्वजनिक गर्न माग गरेकाे छ । यस्तै नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटी, लमही हाेटेल व्यवसाय समिती, राप्ती प्रेस मञ्च राप्तीले समेत छुट्टाछुट्टै विज्ञप्ती जारी गरी तत्काल बलत्कारीलाई पक्राउ गरि सार्वजनिक गर्न र हदै सम्मकाे कार्वाहीकाे माग गरेका छन् । साथै उनीहरूले संघर्ष समितीले शुरू गरेकाे चरणबद्ध आन्दाेलनलाई समेत एक्यवद्धता जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे