सरकारले स्थायित्व नपाउँदा नीति निर्माणमा समस्या भएको छ : प्रतिनिधि सभा सदस्य पोख्रेल 



सरकारले स्थायित्व नपाउँदा नीति निर्माणमा समस्या भएको छ : प्रतिनिधि सभा सदस्य पोख्रेल 

भालुवाङ १८ असोज । प्रतिनिधिसभा सदस्य तथा राज्य व्यवस्थापन सुशासन समितीकी सदस्य मेनका पाेख्रेलले सरकारले स्थायित्व  नपाउँदा नीति निर्माणमा समस्या उत्पन्न भएकाे बताएकी छिन् ।  दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको देउखुरी शिक्षा सहकारी संस्थाद्वारा सञ्चालित पब्लिक एजुकेशन एकडेमीले शुक्रबार आफ्नै विद्यालयमा आयाेजना गरेकाे शिक्षा विकासमा सहकारीकाे आवश्यकता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोख्रेलले सो कुरा बताएकी हुन् ।

सहकारी मार्फत सञ्चालित विद्यालयमा देखापरेको समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पोख्रेलले शिक्षा ऐनमा सुझाब राख्न समय सकिएकाेले अब संसाेधनका बिषयमा एक पटक शिक्षा मन्त्री संग आवश्यक छलफल चलाउने बताएकी छिन् । उनले शिक्षा मन्त्री आफ्नै साथी भएकाेले सहकारीले विद्यालय चलाउन पाउने बिषयमा छलफल गर्ने बताएकी छिन् । पोख्रेलले शिक्षाकाे विकास विना देशकाे विकास असम्भव रहेकाे बताउँदै शिक्षाकाे विकासले मात्र देशकाे विकास हुने बताएकी छिन् ।

विद्यालयका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण शर्मा, लालमटिया गाविसमा पुर्व अध्यक्ष सुर्यप्रकाश शर्मा, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरी, सहकारी शाखा प्रमुख  दामोदर आचार्य, ऐरावती आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तुल्सीराम पाैडेल लगायतका वक्ताहरूले सहकारी शिक्षा ऐनमा देखिएको नीतिगत समस्याका कारण सहकारीबाट सञ्चालित विद्यालयमा समस्या देखिएको, प्रविधिमैत्री तथा व्यवहारिक शिक्षा नभएको लगायतका सुझाव दिएका थिए । कार्यक्रममा रामकृष्ण पाैडेल, रमेशमान गुरूङ, खुमबहादुर गुरूङ, प्रमोद पाैडेलले सुझाव राखेका थिए । विद्यालयका प्रिन्सिपल चम्पकराज कार्कीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन बासुदेव न्याैपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे