आज थारु समुदायले ‘बर्का अट्वारी’ पर्व मनाउँदै, नयाँ पुस्ताले अंगाल्न छोडेपछि लोप हुँदै
देउखुरी २३ भदौ । थारु समुदायको दोस्रो ठूलो पर्व अट्वारी आज मनाइँदै छ । दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा यो पर्व मनाइदै छ ।
प्रत्येक वर्ष भदौ महिनाको श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार अथवा कुसे औसीको पहिलो आइतबारलाई थारु समुदायले बर्का अट्वारीको रुपमा यो पर्वलाई मान्ने गर्दछन । आजको दिन सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरुको कल्याण भएको मान्यता अनुसार आज सूर्यको पूजाआराधना गरिन्छ । यस्तै महाभारतको कथा अनुसार पाण्डव मध्येका भीम रोटी पकाउँदा पकाउँदै कौरवहरुसंग युद्ध लड्न गएका र युद्ध लडेर फर्किदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किंवदन्ती अनुसार आज दिनभरी थारु समुदायका पुरुषहरु व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा गर्छन् । आज दिनभरी व्रत बस्नुपर्ने भएकाले व्रत बस्ने पुरुषहरुले गएराती भाले नबास्दै भिनस¥या अर्थात दर खाने चलन रहेको थारु अगुवा सनिराम चौधरी बताउँछन । आज अट्वारीको दिन माछामासु बाहेक रोटी, दूध, दही, तरुल, फलफूल लगायतका परिकार अग्निमा चढाई पूजा गरीने उनको भनाई छ ।
भोलिपल्ट बिहानै व्रतालु पुरुषहरु नजिकैको जलाशयमा गई स्नान गरेर रोटि, माछा, बिभिन्न तरकारीका परिकारहरु अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोशेली अर्थात अग्रासन छुट्याइन्छ । यसरी छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन रहेको थारुले बताए । दिनभरी परिवार र आफन्ती भेला भएर खानपिन गर्दै रमाईलो गरिन्छ । आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्त संगको भेटघाट, दुखसुख बाँड्ने र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिइन्छ ।
तर, पछिल्ला केही वर्ष यता अट्वारी पर्वको महत्व र प्रचलनमा कमी आएको छ । आधुनिक जीवनशैली र सांस्कृतिक मिश्रणले परम्परागत पर्वहरूको महत्वलाई घटाएको छ । थारू समुदायका मानिसहरूले नयाँ जीवनशैली र मान्यताहरू अपनाउँदै गएका छन् जसले गर्दा अट्वारी जस्ता पम्ंपरागत पर्वहरूको प्रभाव कम हुँदै गइरहेको छ । थारू समुदायमा आर्थिक र सामाजिक परिवर्तनहरू आएपछि परम्परागत पर्वहरूको पालनमा कम ध्यान दिइन थालेको छ । विशेष गरी युवा पुस्ता बीचमा परम्परागत पर्वहरूको मनाउने तरिका परिवर्तन भइरहेको छ । शिक्षा र सामाजिक जागरूकताले नयाँ परम्परागत मान्यताहरूलाई प्रोत्साहन दिएको छ, जसले पुराना परंपरागत पर्वहरूको स्थानमा नयाँ गतिविधिहरू ल्याएको छ ।
अट्वारी पर्वको लोप रोक्न र यसको सांस्कृतिक महत्वलाई पुनर्जीवित गर्नका लागि आवश्यक छ कि थारू समुदायका सदस्यहरूले परम्परागत मूल्य र परम्पराहरूलाई संरक्षण गर्नको लागि सक्रिय प्रयास गरोस् । विद्यालय, समुदाय केन्द्र, र सांस्कृतिक कार्यक्रमहरूको माध्यमबाट अट्वारी पर्वको महत्व र परम्परालाई पुनः जागरूकता ल्याउने प्रयास गर्न आवश्यक छ । यसले थारू सांस्कृतिक धरोहरलाई सुरक्षित राख्न मद्दत पुर्याउने छ । तर पछिल्लो समय अटवारी पर्व लोप हुने अवस्थामा रहेको भन्दै थारु अगुवाहरु चिन्तित बनेका छन् । यस्लाइ बेलैमा सम्बन्धित निकायले ध्यान दिन नसके अट्वारी पर्व लोप हुन सक्ने थारु समुदायका अगुवाहरु बताउँछन ।
अट्वारीको सार्वजनिक बिदा भित्तेपात्रोमा छैन
थारूहरूको अट्वारी पर्व र पर्वको दिन सार्वजनिक बिदा हुनुपर्छ भनेर कुनै भित्तेपात्रोमा लिखित रूपमा आएको देखिदैन । आजको आधुनिक युगमा पनि भित्तेपात्रोमा अट्वारी पर्वको मिति घोषणा गर्न नसकेको अवस्था छ । राज्यसँग माग नगरिएको होइन बिदाको माग गरिएकै हो तर माग मात्रै गर्नै दवावमूलक कार्यक्रम नगर्ने भएकाले पनि राज्यले यो पर्वको दिनको बिदालाई भित्तेपात्रोमा नसमेटिएको थारू अगुवाहरूले बताउँछन् ।
थारू बाहुल्यता रहेका जिल्लामा थारूहरूले माग गर्दा अब थारू बाहुल्यता रहेको जिल्लामा प्रदेश सरकार र स्थानीय सरकारले बिदा दिने गरेको छ । लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया तीन जिल्लामा थारू समुदायलाई सार्वजनिक बिदा दिइएको छ । अझै पनि एउटा विज्ञप्तिकै आधारमा थारू समुदायको पर्वलाई राज्यले हेरिरहेको छ ।