लुम्बिनीमा संघीयता र कृषि बिरोधी बजेट ल्याएकाे भन्दै कांग्रेसद्धारा संसद बैठक अबरुद्ध
भालुवाङ ७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको विषयलाई लिएर आज शुक्रबारको लुम्बिनी प्रदेशसभाकाे बैठक अवरुद्ध गरेकाे छ । बजेट जनतामैत्री नभएको र संघीयताविरोधी आएको भन्दै कांग्रेसले विरोध गरेपछि बैठक स्थगित भएको हाे ।
बैठकको सुरूमा कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफनो धारणा राखेर सदन अवरुद्ध गरेका हुन् । दल नेता चौधरीले धारणा राखिसकेपछि कांग्रेसका सबै सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । बैठक सञ्चालन भएको पाँच मिनेट ५९ सेकेण्डमा सदन अवरुद्ध भएको हो ।
यता कांग्रेसको अवरोधका कारण आधा घण्टाको लागि स्थगित बैठक पुनः बस्न सकेन । दलहरूको बिचका सहमति कायम गर्न आधा घण्टाको लागि संसद बैठक स्थगित गरिएपनि सहमति नजुटेपछि अर्को बैठक असार ९ गतेको लागि बोलाइएको प्रदेश सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।