गायक तथा सञ्चारकर्मी दिपक वलीको “दौडी दौडी आइयो” बोलको म्युजिक भिडियो सार्वजनिक



गायक तथा सञ्चारकर्मी दिपक वलीको “दौडी दौडी आइयो” बोलको म्युजिक भिडियो सार्वजनिक

दाङ २१ बैशाख । लोकप्रिय गायक तथा सञ्चारकर्मी दिपक वली र सर्मिला बिकको स्वरमा रहेको “दौडी दौडी आइयो” म्युजिक भिडियो सार्वजनिक भएको छ । दाङ—तुलसीपुर निवासी गायक, मोडेल तथा सञ्चारकर्मी दिपक वलीको लगानीमा रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

दाङ तुलसीपुर निवासी गायक दिपक वली, सल्यान निवासी नोखिराम थापा र पर्वत निवासी सर्मिला विश्वकर्माको स्वरमा रहेको उक्त लोकदोहोरी गीतको म्युजिक भिडियो बजारमा आएको छ । उक्त भिडियो आज शुक्रबार दिउँसो करिब ३ बजे दियालो अनलाइन टिभी नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राष्ट्रिय संगीतकर्मी संघ दाङका पूर्व सह—सचिव ईश्वरी बिसीको शब्द तथा संगीत रहेको छ भने गीतलाई म्यूजिक बाण्ड नेपालका सञ्चालक कृष्णबहादुर पुनले एरेन्ज गर्नु भएको थियो । म्यूजिक बाण्ड नेपालको रेकडिङ स्टुडियोे काठमाडौँमा गीत रेकर्ड गरिएको हो । गीतको भिडियोमा दाङ तुलसीपुर निवासी टिकटक स्टार सिर्जना वली र दाङ तुलसीपुर कै मोडेल तुफान वलीको बिशेष अभिनय रहेको छ ।

साथै उक्त भिडियोमा बिमला न्यौपाने, सुवास विश्वकर्मा, अमृता गिरी, कली वली, अनिता बुढाथोकी, दामोदर केसी, हरिप्रसाद पाण्डे, केशरबहादुर सुनार, रमेश जैसी, निर्मला विक, कमला वली, सुस्मिता पुनमगर, चोभार पौडेल र कमलराज न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन अभिषेक मल्लले गर्नु भएको थियो भने छायांकन महेश कुसुमियाँले गर्नु भएको थियो ।

उक्त गीतले मौलिक सिर्जनाको विकास एवम् विस्तारका लागि भएपनि नेपाली गीत संगीतको सागरमा केही भएपनि योगदान दिने गायक वलीले बताउनुभयो । गीतमा आफूले माया गरेको प्रेमिका नै चाहिएको उक्त गीत मार्फत देखाउन खोजिएको छ । गीतको म्यूजिक भिडियोमा मोडेल तुफान वली र सिर्जना वलीको निकै आकर्षक अभिनय देख्न सकिन्छ ।

गीतको शब्दमा कृष्ण, राधा र सिताको नाम समेत रहेकोले भिडियो सोही अनुसारको कलाकार तयार गरी भिडियो निर्माण गरिएको गायक वलीले बताउनुभयो । भिडियो हेर्दा भजन जस्तो देखिएपनि गीत भने लोकदोहोरी नै रहेको गायक वलीले बताउनुभयो । सो गीतको छायांकन दाङको तुलसीपुर उप—महानगरपालिका—१, भम्केको देबिस्थान मन्दिर परिसरमा गरिएको थियो ।

दाङ तुलसीपुरको उर्वर भूमिमा जन्मिएर नेपालको अधिकांश भु—भागमा प्रतिनिधित्व गरिसक्नु भएका गायक, मोडेल तथा सञ्चारकर्मी दिपक वलीलाई स्वदेश तथा विदेशमा रहेका नेपालीले रुचाएका कलाकार भित्र पर्नु हुन्छ । स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत अब्बल क्षमता रहेका कलाकार वलीले एक दर्जन बढी गीतहरु बजारमा ल्याइसक्नु भएको छ ।

त्यस्तै वलीले गायन संगै मोडिलिङ्ग समेत गर्दै आउनु भएको छ । गायक वली दाङ सहित सल्यान, रोल्पा, प्यूठान, रुकूम पूर्व र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा सञ्चालन हुने मेला मोहत्सवमा समेत आफ्नो प्रस्तुति देखाएर हजारौँ दर्शकको मन जिति सक्नु भएको छ । गायक वलीले अहिले सम्म विभिन्न चार वटा राष्ट्रिय म्युजिक अवार्ड समेत प्राप्त गरिसक्नु भएको छ ।

गायक वली कलाकारिता संगै सामाजिक अभियानमा समेत उत्तिकै सक्रिय देखिनु हुन्छ । उहाँले दुखीपिडितहरुको घर बनाइदिने देखि लिएर उपचार सहयोग, राहत प्रदान लगायतका कार्यहरु समेत गर्दै आउनु भएको छ ।

गायक वली कलाकारिता संगै पत्रकारितामा समेत त्यतिकै सक्रिय हुनुहुन्छ । उहाँ हाल दाङको तुलसीपुरबाट दियालो अनलाइन डटकम र दियालो अनलाइन टिभी समेत सञ्चालन गर्दै आउनु भएको छ । वली हाल राष्ट्रिय सगीतकर्मी संघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष समेत रहनु भएको छ ।

हेर्नुहोस् यो भिडियो :

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे