राप्ती गाउँपालिकाले तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिने



राप्ती गाउँपालिकाले तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिने

भालुवाङ १ चैत । दाङकाे राप्ती गाउँपालिकाले तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिने भएको छ।

गाउँपलिकाले चालु आर्थिक २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तरकारी खेती गर्ने कृषकहरूलाई क्षेत्रफलकाे आधारमा अनुदान दिन लागेको कृषि शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिएका छन् । गाउँपालिकाले खुल्ला जग्गामा तरकारी खेती गरे वापत प्रति कठ्ठा २ हजार र प्लाष्टिक टनेल भित्र खेती गरेमा प्रति टनेल (५×१० मिटर) १ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने जनाएको छ।

त्यस्तै पालिकाले अनुदान प्राप्त गर्नका लागि कृषक तथा कृषि फर्महरुले कम्तिमा ३ कठ्ठा र कृषक समूह तथा कृषि सहकारी संस्थाहरुले कम्तिमा १० कठ्ठा क्षेत्रफलमा तरकरी खेती गरेको हुनु पर्ने प्रावधान राखेको छ। गाउँपालिकाले तरकारी खेती तर्फ कृषकहरूलाई प्रोत्साहन गर्न क्षेत्रफलको आधारमा अनुदान दिन लागिएको शाखा प्रमुख गडरियाले बताए । चालु आर्थिक वर्षमा क्षेत्रफलको आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमका लागि गाउँपालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा सहभागि हुन चैत १४ गते भित्र इच्छुक कृषक, कृषि फर्म, कृषक समूह र कृषि सहकारीले आवश्यक कागजात सहित गाउँपालिकाकाे कृषि शाखामा आवदेन दिन सक्ने गाउँपालिकाले एक सूचना जारी गर्दै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे