राप्तीमा सञ्चालित अध्यक्षकप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं. १ र पुरुष तर्फ वडा नं.२ विजयी
देउखुरी २० फागुन । दाङ – देउखुरीकाे राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्षकप फुटबल प्रतियोगितामा महिला तर्फ वडा नं. १ र पुरुष तर्फ वडा नं. २ विजयी भएका छन्।राप्ती गाउँपालिका वडा नं. ३ मसुरीया स्थित श्रीचाैर खेलमैदान आइतबार सम्पन्न फाइनल खेलमा महिला तर्फ वडा नं. १ ले वडा नं. ३ लाई ३-१ काे गाेल अन्तरले हराउँदै विजयी भएको हाे। त्यस्तै पुरुष तर्फ वडा नं. २ ले वडा नं. १ लाई ६-० काे फराकिलो गाेल अन्तरले हराउँदै विजयी भएको हाे। पुरुष तर्फकाे खेलमा वडा नं. १ उपविजेता भएको छ । भने महिला तर्फकाे खेलमा वडा नं. ३ उपविजेता भएको छ। यसैगरी महिलाहरुकाे खेल तर्फ खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै वडा नं. १ कि मनिषा कुमाल उत्कृष्ट खेलाडीकाे रुपमा र खेल अवधिभर सबै भन्दा धेरै ३ गाेल गरेकाे भन्दै वडा नं. ३ कि बिहानी पुन मगरलाई उत्कृष्ट गाेलकर्ताकाे रुपमा सम्मान गरिएको छ।त्यस्तै पुरुषहरुकाे खेल तर्फ खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै वडा नं. २ का अमित चाैधरी उत्कृष्ट खेलाडीकाे रुपमा र खेल अवधिभर सबै भन्दा धेरै ६ गाेल गरेकाे भन्दै वडा नं. १ का प्रदिप सुनारलाई उत्कृष्ट गाेलकर्ताकाे रुपमा सम्मान गरिएको छ। प्रतियोगिताका बिजेता महिला तथा पुरुष दुबै टिमले ४० / ४० हजार तथा उप विजेता टिमले ३०/३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विजेता खेलाडीहरुलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट ,उपाध्यक्ष कमलापती चाैधरी तथा वडा अध्यक्षहरुले हार्दिक बधाई दिदै नगदसहित कप, मेडल तथा प्रमाण–पत्र प्रदान गरेका थिए । प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका महिला र पुरुष गरि १६ टिमकाे सहभागीता रहेको थियो । प्रतियोगिता गत १८ गते शुक्रबार देखि सुरु भई २० गते आइतबार सम्पन्न भएको हाे।