देउखुरीको सुन्डवरीमा महायज्ञ सुरू, हिन्दु धर्मको संरक्षणमा महायज्ञको भुमिका महत्त्वपूर्ण छ : वडा अध्यक्ष पाैडेल



देउखुरीको सुन्डवरीमा महायज्ञ सुरू, हिन्दु धर्मको संरक्षणमा महायज्ञको भुमिका महत्त्वपूर्ण छ : वडा अध्यक्ष पाैडेल

लमही १२ फागुन । दाङको लमही नगरपालिका वडा नम्बर १ सुन्डवरीमा शनिबार देखि श्रीमद्भभागवत महापुराण सप्ताह धनधन्याचल ज्ञान विज्ञान योगसाधाना महायज्ञ सुरू भएको छ ।

भक्त समाज परिवारका खुसराम चाैधरी तथा रूमा चाैधरीको आयोजनामा हिन्दु धर्मको संरक्षण तथा धर्मशाला निर्माणका लागि महायज्ञ सुरू भएको हो । समाजका अध्यक्ष खुसराम चाैधरीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पाैडेलको प्रमुख आतिथ्यता तथा प्रमुख कथा बाचक श्रीकृष्ण शरण दास महाराजको विशिष्ट आतिथ्यतामा भएको महायज्ञ उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पाैडेलले पछिल्लो समय विभिन्न लोभलालचमा परि धर्म परिवर्तन गर्ने प्रचलन अत्यधिक बढेकाले त्यसको रोकथामका लागि महायज्ञले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

त्यस्तै वडा अध्यक्ष पाैडेलले हिन्दु धर्मको संरक्षण, सम्वर्द्वनका लागि सवैले ध्यान दिनुपर्ने बताएका छन् । उनले आफ्नो वडामा एक जना परिवारले महान उद्देश राखेर आयोजना गरेको महायज्ञलाई सफल बनाउन वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । त्यस्तै प्रमुख कथा बाचक श्रीकृष्ण शरण दास महाराजले हाम्रा संस्कार र संस्कृतिलाई जर्गेना गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपाल ऋषिमुनिले तपस्या रहेको भुमि पनि भएकाले हिन्दु सनातन धर्म संरक्षण तथा प्रचारप्रसारमा सवैले ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रममा देउखुरी टुडे डटकमका अध्यक्ष / प्रधानसम्पादक सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रममा उपवाचक आचार्य पण्डित टीकाराम पौडेल, यज्ञाचार्यआचार्य शिवराज जोशी, योगगुरु श्री विजय योगीको विशेष उपस्थिति रहेको थियोे ।

फागुन १९ गते सम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथा बाचकको रूपमा श्रीकृष्ण शरण दास महाराज रहेका छन् । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । महायज्ञमा मूलपाठ पारायण दैनिक विहान ५ बजे देखि ११ बजे सम्म, योगा एवं ध्यान दैनिक विहान ५ः३० देखी विहान ७ः३० बजे सम्म, कथा प्रवचन एवं झाँकी लीला दैनिक विहान ११ः३० बजे देखि ४ः३० बजे सम्म, महात्म्य कथा एवं सायं कालिन भजन कीर्तन बेलुका ७ बजे देखि राति १०ः३० बजे सम्म र महाआरती साँझ ६ः३० बजे देखि सुरू हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे