घरजग्गा बेचेर श्रीमती पराईसँग भागेपछि श्रीमान‍्ले गरे कतारमै  आत्महत्या



घरजग्गा बेचेर श्रीमती पराईसँग भागेपछि श्रीमान‍्ले गरे कतारमै  आत्महत्या

चितवन २४ मंसिर । चितवनको भरतपुरका हरि वाग्ले खाडी मुलुक कतारमा पसिना बगाउँदै थिए । मंसिर दोस्रो साता उनले त्यहाँ आत्महत्या गरे । आत्महत्याको पछाडि पत्नीको विवाहेत्तर सम्बन्ध र मानसिक टर्चरको भूमिका रहेको परिवारको दावी छ । एक वर्षअघि बिदामा आएका वाग्लेले श्रीमतीको दवावमा भरतपुर महानगरको घर–जग्गा उनकै नाममा नामसारी गरिदिए । अनि, कतार फर्किए ।

वाग्लेको परिवारका एक सदस्यका अनुसार लकडाउन शुरु भएपछि फोन र म्यासेज गरेर नेपालबाट श्रीमतीले उनलाई टर्चर दिन थालिन् । एकजना पुरुषसँगको फोटो फेसवुकमा पोष्ट गरिन् । परपुरुषसँगको फोटो देखेपछि हरिले सोधे, ‘घरजग्गा तिम्रो नाममा गरेको छु, म यहाँ पसिना बगाउँदै छु किन परपुरुषसँगको फोटो फेसवुकमा पोष्ट गरेको ?’

श्रीमानको नाताले सो कुरा उनले सोध्नु नाजायज त थिएन । तर, सोही निहुँमा श्रीमतीको अश्लील गाली र मानसिक टर्चर सहन नसकेपछि हरिले कतारमा आत्महत्या गरे । परिवारको सदस्य अहिले उनको शव ‘कहिले नेपाल आउला’ भनेर प्रतिक्षा गरिरहेका छन् ।

भरतपुर महानगरको घरजग्गा र लामो सयमदेखि कतारबाट श्रीमानले पठाएको पैसा लिएर श्रीमती पराईसँग हिँडिन्। उनीहरुको एउटा छोरा छ । छोरालाई दिदीको घरमा राखिन् । सो कुरा थाहा पाएपछि हरिले संसारबाट बिदा हुने निर्णयमा पुगेको परिवारको दावी छ । परिवारसँग उनले फोन बारम्बार भन्थे, ‘श्रीमतीले मानसिक तनाव दिइरहेकी छिन् ।’

प्रहरी भन्छ, ‘जाहेरी लिँदैनौं’
श्रीमतीले दुरुत्साहन दिएकै कारण परिवारका सदस्यले आत्महत्या गरेको भन्दै वाग्लेका परिवारका सदस्य ‘आत्महत्या दुरुत्साहन’को जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय चितवन पुगेका छन् । तर, चितवन प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

‘भाउजुले दुरुत्साहन दिएको र घर–जग्गा बेचविखन गरेर ठगी गरेको जाहेरी लिएर गएका थियौं’ मृतककी बहिनीले रातोपाटीसँग भनिन्, ‘अब, न दाइको ज्यान छ न सम्पत्ति बाँकी रह्यो ।’  चितवन बस्ने मान्छेले कतारमा दुरुत्साहन गर्न नसक्ने हुनाले आफूले जाहेरी लिन अस्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नान्तिराज गुरुङले बताए । एसपी गुरुङले भने, ‘चितवन बस्ने मान्छेले कसरी दुरुत्साहन गर्छ, हामी उजुरी लिन असमर्थ छौं ।’

आत्महत्या दुरुत्साहन हुनका लागि पीडक सँगै हुनु नपर्ने कानुनी व्यवस्था छ । प्रत्यक्ष भेटघाट र कुटपिट नभएपनि मानसिक टर्चर दिएर आत्महत्या गर्न बाध्य पारेमा दुरुत्साहनको अधिकार क्षेत्रमा पर्ने कानुन सम्बन्धी जानकारहरु बताउँछन् ।

यस्तो छ, कानुन
मुलुकी अपराध संहिता–०७४ को दफा–१८५ मा आत्महत्या दुरुत्साहन दिन नहुने कानुनी व्यवस्था छ । सो कानुनमा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउनु हुँदैन ।’

सो कसुर गर्ने व्यक्तिलाई पाँच बर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । कानुनविद्हरुका अनुसार मानसिक टर्चर दिएर आत्महत्या गर्नेसम्मको परिस्तिि सिर्जना गरेमा सो मुद्धा प्रहरीको अधिकार क्षेत्रमा पर्छ । तर, चितवन प्रहरीले आफ्नो अधिकार क्षेत्रमा नपर्ने दावी गरेको छ ।

‘श्रीमतीको टर्चर र सम्पत्ति खाएर हिँडने परिस्थितिले आत्महत्या गरेको विषय दुरुत्साहनमा पर्छ,’ नेपाल प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘अर्काले सिर्जना गरेको परिस्थितिका कारण आत्महत्या गरेमा दुरुत्साहन हुन्छ ।’ सो ऐनको दफा–१८६ मा दुरुत्साहन कसुरबाट जिउ, ज्यान वा सम्पत्तिमा हानिनोक्सानी भएमा कसुरदारबाट निजको हकवालालाई क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ । समाचार राताेपाटीमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे