राष्ट्रिय जनमोर्चा दाङले घण्टदेव सामुदायिक वनमा वृक्षारोपण गरेर हिरक जयन्ती मनायाे



राष्ट्रिय जनमोर्चा दाङले घण्टदेव सामुदायिक वनमा वृक्षारोपण गरेर हिरक जयन्ती मनायाे

भालुवाङ २७ साउन ।  राष्ट्रिय जनमोर्चा दाङले वृक्षाराेपण कार्यक्रम गरि हिरक जयन्ती मनाएकाे छ । कम्युनिष्ट पार्टी स्थापनाको दिनलाई जनमोर्चाले हिरक जयन्तीको रुपमा मनाउँदै आएकाे छ । दिवसका अवसरमा जनमोर्चा दाङले शनिवार राप्ती गाउँपालिका–३ स्थित घण्टदेव सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, कम्युनिष्ट पार्टीका संस्थापक सचिव नारायणप्रसाद शर्मा र ज्येष्ठ कम्युनिष्ट सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार भगवतीप्रसाद चौधरीले सामूहिक रूपमा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । आज भन्दा ७५ वर्ष पहिला स्थापना भएको कम्युनिष्ट पार्टीमा विभिन्न समूह भए पनि स्थापनाको अविभाजित कम्युनिष्ट पार्टीको सन्देश दिने उद्देश्यसहित हिरक जयन्तीमा रचनात्मक कार्यक्रम गर्ने प्रयत्न गरिएको आयोजक जनमोर्चा दाङले बताएको छ ।

कार्यक्रममा राजमो कार्यकारी अध्यक्ष नेपालीले कम्युनिष्ट आन्दोलनमा विचलन आएकाले यो हिरक जयन्तीले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी रूपान्तरणमा जोड दिए । संस्थापक सचिव शर्माले कम्युनिष्ट पार्टीहरू धेरै बिग्रेकोमा चिन्ता व्यक्त गरे । त्यस्तै ज्येष्ठ कम्युनिष्ट नेता तथा एकीकृत समाजवादी सल्लाहकार चौधरीले असल कम्युनिस्ट पार्टीहरूले यस्तै कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा राजमो केन्द्रीय सदस्यत तथा लुम्बिनी प्रदेशसभा सदस्य तारा थापाले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाली, शर्मा र चौधरीलाई राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले फूलमाला र अबिरले सम्मान गरेका थिए । राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा राजमो जिल्ला सचिवालय सदस्य केशवराज खनालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण राजमो जिल्ला सचिव वशन्त पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे