सङ्गठनात्मक अभियान सञ्चालन गर्न राजमो दाङले आगामी भदौ ९ गते भेला गर्दै



सङ्गठनात्मक अभियान सञ्चालन गर्न राजमो दाङले आगामी भदौ ९ गते भेला गर्दै

दाङ १६ साउन । राष्ट्रिय जनमोर्चा दाङले सङ्गठनात्मक अभियान सञ्चालन गर्न आगामी भदौ ९ गते जिल्ला भेला गर्ने भएको छ । राजमो दाङको आइतबार घोराहीमा बसेको बैठकले सो निर्णय गरेको हो । जिल्ला अध्यक्ष गणेश आचार्यले  आज साेमबार प्रेस विज्ञप्ती जारी गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । नेकपा स्थापनाको हीरक जयन्ती र लेनिनको शताब्दी स्मृतिदिवसको सन्दर्भमा आगामी असोज महिनाभरि हजारौँ सदस्य पार्टीमा सङ्गठित गर्ने योजनालाई मूर्त रूप दिन सो भेलाको आयोजना गर्ने निर्णय गरेकाे जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

बैठकले जिल्लामा कम्युनिस्ट आन्दोलनमा योगदान दिएका ज्येष्ठ सदस्य तथा संस्थापकसमेतको उपस्थितिमा साउन महिनाभित्र वृक्षरोपण गरिने भएको छ । त्यस्तै केही समय अगाडिदेखि राप्ती नदीको दोहन र त्यहाँ भएको भ्रष्टाचारको विषय उठाइएको छ । “राप्ती नदीको दोहन र भ्रष्टाचारमा जिल्लाको सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र स्थानीय सञ्चारकर्मीको समेत नाम जोडिनु, राजनीतिक व्यक्ति ठेकेदार बन्नु तथा उनैले भ्रष्टाचारको कुरा सार्वजनिक गर्नु र अहिलेसम्म पनि त्यो विषयमा सत्य तथ्य सार्वजनिक नगर्नु र दोषीलाई कारबाही प्रक्रिया अगाडि नबढाएको अवस्थामा तत्काल दोषीलाई कारबाही गर्न वा सत्य तथ्य सार्वजनिक गर्न जोडदार माग गर्दछौँ” अध्यक्ष आचार्यद्धारा जारी  विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरी सरकारले किसानलाई खेती गर्ने समयमा अनुदानको मल पुर्‍याउन नसकेको र किसानहरू बाध्यताले महङ्गोमा गुणस्तरहीन रासायनिक मलप्रयोग गर्न बाध्य भएकोमा सरकारको गैरजिम्मेवार प्रवृत्तिप्रति क्षोभ प्रकट गर्ने र आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्‍याउन ध्यानाकर्षण गराउने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएकाे छ । ।

यतिखेर वर्षात्को समय भएको कारण बाढीपहिरो तथा प्राकृतिक प्रकोपको सम्भावनालाई मध्यनजर गरी पीडितको उद्धार र राहतमा ध्यान दिने निर्णय बैठकमा भएको विज्ञप्तीमा उल्लेख छ । साथै विकास निर्माणका काममा व्यापक रूपमा गुणस्तर मापनमा अनियमितता भएको सन्दर्भ उठाउँदै विज्ञप्तिमा त्यसका कारण पक्की सडक तथा पुल वर्षदिन नपुग्दै ध्वस्त हुने, गुणस्तर मापनकर्ता नै सेटिङ रहनु जस्ता समस्याको भण्डाफोर गर्ने समेत अध्यक्ष आचार्यद्धारा जारी  विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

याे पढ्नु हाेस् विज्ञप्तीकाे पूर्णपाठ…

राष्ट्रिय जनमोर्चा
जिल्ला समिती दाङ देउखुरी
                                                                             
                                                                              विषय – प्रेस बिज्ञप्ती
राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरीको बैठक अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा मिती २०८० श्रावण १५ गते जिल्ला सम्पर्क कार्यालय घोराहीमा बस्यो । बैठकले गरेका सार्वजनिक महत्त्वका निर्णयहरु सार्बजनिक गर्नको लागि यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।
१ सर्बप्रथम गत जेष्ठ १२ र १३ गते सम्पन्न भएको राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको पाचौ जिल्ला सम्मेलन भब्य एबम सब्यरुपमा सम्पन्न भएको समिक्षा गरियो ।
२ अहिले पार्टीले यो बर्षभरी कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्ती र लेनिन सताब्दी स्मृती दिबस मनाइरहेको छ । यसै सन्दर्भमा आगामी असोज महिना भरी हजारौलाई कम्युनिस्ट पार्टीमा संगठित गर्ने योजना सहित संगठनात्मक अभियान संचालन गर्ने , त्यसको बिस्तृत योजना बनाउन आगामी भाद्र ९ गते जिल्ला भेला गर्ने र जिल्लामा कम्युनिस्ट आन्दोलनमा योगदान भएका जेष्ठ सदस्य तथा सस्थापकहरु समेतको उपस्थितिमा श्रावण महिना भित्र बृहत बृक्षा रोपन कार्यक्रम गर्ने निर्णय भएको छ ।
३ हाम्रो पार्टी प्राकृतिक श्रोत साधनमाथी भएको अनियंत्रित दोहनका विरुद्धमा बारम्बार खबरदारी गर्दै आइरहेको कुरा सर्बबिदितै छ । यसै सन्दर्भमा केही समय अगाडी राप्ती नदिको दोहन र त्यहा भएको भ्रष्टाचारको कुराको बैठकमा विशेष ध्यानाकर्षण भयो । त्यो दोहन र भ्रष्टाचारमा जिल्ला को सुरक्षा निकायका प्रमुख , जनप्रतिनिधि र स्थानिय संचारकर्मीहरुको समेत नाम जोडीनु , राजनीतिक ब्यक्तिहरु ठेकेदार बन्नु तथा उनैले भ्रष्टाचारको कुरा सार्वजनिक गर्नु र अहिले सम्म पनि त्यो विषयमा सत्य तथ्य सार्बजनिक नगर्ने र दोसिलाइ कारबाही प्रक्रिया अगाडी नबढाउने कुराको बैठकमा विशेष ध्यानाकर्षण भयो । बैठकले तत्काल दोसि लाई कारबाही गर्न वा सत्य तथ्य सार्वजनिक गर्न जोडदार माग गर्ने निर्णय गरेको छ ।
४ सरकारले किसानहरुलाइ खेती गर्ने समयमा अनुदानको मल पुराउन नसकेको र किसानहरु बाध्यताले महङ्गोमा गुणस्तरहिन रासायनिक मल प्रयोग गर्न बाध्य भएको बिषय प्रती बैठकमा ध्यानाकर्षण भयो । सरकारको गैर जिम्मेवार प्रवृत्ति प्रती क्षोभ प्रकट गर्दै बिरोध गर्ने र आगामी दिनमा यस्ता क्रियाकलाप नदोहोर्याउन ध्यानाकर्षण गराउने निर्णय भयो ।
५ अहिले बर्षातको समय भएको कारण बाडिपहिरो तथा प्राकृतिक प्रकोपको सम्भावना लाइ मध्यनजर गरि पीडितहरुको उद्दार र राहतमा ध्यान दिन सम्पुर्ण पार्टी कार्यकर्तालाई लाई अनुरोध गर्ने निर्णय भयो ।
६ बिकास निर्माणका कामहरुमा व्यापक रूपमा गुणस्तर मापनमा अनियमितता भएको छ । जसका कारण पक्की गरेका सडक र पुलहरू एक बर्ष पनि नचल्दै धोस्त हुने गरेका छ्न । गुणस्तर मापनकर्ताहरु नै सेटिङमा पास गर्नुका कारण यो अवस्था उत्पन्न भएको हो । त्यसैले त्यसको प्रमाण पहिचान गरि भण्डाफोर गर्न स्थानीय संगठनहरुलाइ परिचालन गर्ने निर्णय भएको छ ।
मिती २०८०/०४/१६                                                                                                                               गणेश आचार्य
                                                                                                                                                                  अध्यक्ष                                                                                                                                  
                                                                                                                                                   
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे