दाङको घोराही-तुलसीपुर चारलेन सडक मर्मत कार्य शुरु



दाङको घोराही-तुलसीपुर चारलेन सडक मर्मत कार्य शुरु

दाङ ८ साउन । दाङको घोराही-तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत शुरु हुन थालेको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

“पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको उनले जानकारी दिए । त्यस्तै उनले केहीदिनमै तुलसीपुर क्षेत्रको पनि काम सुरु हुने बताए । उनले हापुर खोलादेखि तुलसीपुरसम्म बुधबारदेखि काम सुरु गरिने उनकोको भनाइ छ । घोराही क्षेत्रमा रु एक करोड ४२ लाख ५५ हजार र तुलसीपुर क्षेत्रमा रु एक करोड १६ लाख ९६ हजार लागतमा ठेक्का लगाइएको हो । घोराही-तुलसीपुर चार लेन सडक मर्मतका लागि रु तीन करोड बजेट विनियोजन गरिएको थियो । चारलेन सडक निर्माणको यस अघिको ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्का आह्वान गरेको हो ।

यसअघि भारतको एक्जिम बैंकको ऋण लगानीमा चारलेन सडक निर्माण सुरु गरिएकोमा पाँच वर्षसम्म पनि निर्माणले पूर्णता पाउनाको साटो सडक भातुभुङ्ग हुँदा दुर्घटना बढेको थियो । सडकको बीच बीचमा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या भएपछि नागरिकले विरोध गरेकाले सरकार ठेक्का तोड्न बाध्य भएको हो । ठेक्का तोडिएसँगै रु तीन करोडको लागतमा सडक मर्मत गर्ने कार्य गरिने प्रमुख अधिकारीले बताए। असोज मसान्तसम्म काम सक्ने गरी सम्झौता भएको छ । वर्षाको समयमा एक महिना काममा बाधा उत्पन्न भए पनि तोकिएको समयमा काम सकेर आवतजावत सहज बनाउने गरी काम अघि बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे